| मङ्लबार, कार्तिक २४, २०८३

धार्चे लापुका १२ अव्यवस्थित बसोबासीलाई निस्सा वितरण

गोरखाको धार्चे गाउँपालिका वडा नं ७ लापुमा अब्यवस्थित बसोबास गरेका १२ घरधनीलाई निस्सा (जग्गा प्राप्त गर्ने प्रमाणपत्र) वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ, उपाध्यक्ष सुनिला गुरूङ र वडाध्यक्ष राकेश गुरूङले शुक्रबार एक कार्यक्रमका गरी उनीहरुलाई निस्सा वितरण गरेका हुन् ।

राष्ट्रिय भूमि आयोगले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास गरेकाहरुको लगत संकलन गर्ने कार्य गर्दै आएको छ । सोहीअन्तरगत लापुमा भने भूमिहिन दलित र भूमिहिन सुकुम्बासी नरहेको र अव्यबस्थित बसोबास गर्नेहरु मात्र रहेकाले उनीहरुलाई मात्र निस्सा वितरण गरेको प्रशासन तथा योजना शाखाका अधिकृत तथा पालिकाको भूमि आयोगको फोकल पर्सन रुलबहादुर आलेले बताए ।

१० वर्ष भन्दा बढि जग्गा भोगचलन गर्दै आएको जग्गाको अहिलेसम्म नाप, नक्सा नभएका जग्गाहरु उनीहरुलाई बितरण गरिएको उनले बताए । अब्यवस्थित बसोबास गरेका स्थानीयहरुले फर्म भरेको र त्यसलाई वडाले पालिकामा सिफारिस गरी पठाएको थियो । त्यस्तै, कार्यपालिको बैठकले निर्णय गरी जिल्ला भूमि आयोग गोरखामा पठाएको थियो । भूमि आयोगले दाबी विरोधका लागि सूचना निकालेको र कसैको पनि दाबी विरोध नआएपछि पालिकाले निस्सा वितरण गरेकोे उनले जानकारी दिए ।

यसअघि गाउँपालिका वडा नं १ हुल्चुकमा भूमिहीन दलित र सुकुम्बासी गरी १३ जनालाई निस्सा वितरण गरिएको थियो । यस्तै वडा नं ४ लाप्राकका अब्यवस्थित बसोबास गरेका ४० घरधनीलाई पनि निस्सा वितरण गरिसकिएको छ ।
अव पालिकाका भित्रका वडा नं. ५ र ६ मा निस्सा वितरणको काम बाँकी रहेको छ । ‘वडा नं. १ मा पनि अब्यवस्थित बसोबास रहेको छ, उनीहरुको पनि निस्सा वितरण बाँकी छ’ आलेले भने । वडा नं. २ र ३ मा भने भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोबासी नरहेको उनले दाबी गरेका छन् ।

बाँकी वडाहरुमा पनि माघको अन्तिम अथवा फागुन महिनाको पहिलो हप्तासम्ममा निस्सा वितरण गरिसक्ने उनले बताए । उनीहरुलाई अब कार्यपालिकाले निर्णय गरेर मालपोत कार्यालय, नापी कार्यालयबाट प्राविधिकहरु फिल्डमा जग्गाको नापजाँच गरी छिट्टै जग्गा वितरण गर्ने कार्य अघि बढ्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्