
गोरखा मेलामा राखिएका स्टलका सामग्रीहरुको अनुगमन
गोरखा चेम्बर अफ कमर्शको आयोजनामा सदरमुकामको खेलकुद मैदानमा जारी ‘कृषि पर्यटन प्रवद्र्धन तथा व्यापार मेला २०८०’को स्टलमा राखिएका खाद्य सामग्रीको अनुगम गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्यको संयोजकत्वमा अनुगमन गरिएको हो । मेलाभित्र रहेका १६ वटा स्टल र बजार क्षेत्रका दुईवटा मिठाई पसलको अनुगमन गरिएको उनले बताए । अनुगमनको क्रममा न्यु अमृत मिष्ठान्न मिठाई पसल घरेलु तथा साना उद्योगमा दर्ता नगरी सञ्चालन गरिएकाले बन्द गरिएको खाद्य अधिकृत ज्योति आचार्यले जानकारी दिए ।
स्टलमा लेवल नराखी राखिएका विभिन्न खाद्यान्न सामग्रीहरु फिर्ता गर्न लगाएको उनले बताए । ‘कतिपय ठाउँमा मूल्य र तौल मात्रै छ, कतै उत्पादन मिति छैन उपभोग्य मिति मात्रै छ,’ उनले भने, ‘त्यस्ता सामग्रीहरु स्थानीय उत्पादन भएकाले कपीमा लेखेर भएपनि लेवल राखिदिन आग्रह गरेका छौं ।’ खरिद बिक्रीका लागि राखिएका सामग्रीमा खाद्य पदार्थको नाम, ब्याच नं. उत्पादन मिति, उपभोग्य मिति, समिश्रण, तौल, मूल्य र उत्पादकको पूरा नाम ठेगाना उल्लेख गरिनु पर्ने अधिकृत आचार्यको भनाइ छ ।
अनुगमन टोलीले म्याद नाघेका सामग्रीहरु बरामद गरी तत्काल नष्ट समेत गरिएको छ । खाद्य पदार्थमा प्रयोग भएका रंगहरु दुरुत्सान गरी नष्ट गर्न लागाएको पनि उनले जानकारी दिए । ‘जनचेतनाको कमीले होला उपभोक्ताले पनि त्यहीँ रुचाउने र बिक्रेताले पनि त्यहीँ प्रयोग गर्ने’, उनले भने, ‘हाम्रो अनुगमन टोलीले त्यस्ता जेरी, चटपटमा प्रयोग हुने अखाद्य पदार्थहरुलाई बरामद गरी बिक्रेताद्वारा नै नष्ट गर्न लगायो ।’ मेलाका राम्रो पक्षमा स्थानीय उत्पादन भएका टपराको प्रयोग, आलमुनियम कन्टेनर राखिएको, खाद्य सामग्री सुरक्षित ढंगले पारदर्शी कपडाले छोपेर राखिएको पाइएको उनले बताए ।
डिलरबाट आएका सामग्रीहरु भने प्याकेजिङको लेवलमा पूर्णता नभएको पाएकाले फिर्ता पठाएको उनले जानकारी दिए । खाद्य अनुसन्धान अधिकृत आचार्यको संयोजकत्वमा गएको अनुगमन टोलीमा खाद्य निरीक्षक सन्तोष थापा मगर, जिल्ला प्रशासन कार्यालयका विश्व रोका मगर, घरेलु तथा साना उद्योग कार्यालय गोरखाका प्रमुख सूर्य भुजेल, गोरखा नगरपालिकाबाट शोभा प्रदान, उपभोक्ता संरक्षण मञ्च गोरखाका उपाध्यक्ष किरण लोहनी, प्रहरी सहायक निरीक्षक लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।




