
पाँच वर्षका लागि एमक्यापको म्याद थप
प्राकृतिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले प्रसिद्ध मनास्लु क्षेत्रको व्यवस्थापन गर्ने जिम्मा पाएको मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)को म्याद पाँच वर्षका लागि थप गरिएको छ । यही पुस ५ गते बसेको मन्त्रीपरिषद्को बैठले थप पाँच वर्षका लागि म्याद थप गर्ने निर्णय गरेको हो ।
२०७७ साल असार १३ गतेदेखि एमक्यापको म्याद थप गरिएको थिएन । संघीय संरचना बनेपछि म्याद थप नहुँदा कर्मचारी व्यवस्थापनमा समस्या हुदैं आएको एमक्यापका प्रमुख सन्तोष शेरचनले बताए । ‘२०७३ मा संघीय संरचना बन्यो, त्यसपछि एक चोटी म्याद थप भयो, तर पनि गाउँ विकास समिति संरक्षण क्षेत्र व्यवस्थापन समितिको कर्मचारीले नै काम गरिरहे,’ उनले भने, ‘म्याद थप नहुँदा कर्मचारी व्यवस्थापनमा निकै समस्य हुने गरेको थियो । अब सहज हुने विश्वास लिइएको छ ।’ संरक्षण क्षेत्रको ब्यवस्थापन योजनाका लागि ब्यवस्थापन नियमावली २०५३ र संरक्षण क्षेत्र ब्यवस्थापन निर्देशिका २०५६ बनेको थियो । सोही बमोजिम अहिलेसम्म काम गरिरहेको उनले बताए ।
अब म्याद थप भए पछि भने नियमावली र निर्देशिका दुबैलाई संशोधन गरी पारित गर्न लागिएको प्रमुख शेरचनले जानकारी दिए । ‘संघीय संरचना लागु भइसक्यो, पहिलेको गाविसको कार्य व्यवस्थापन अनुरुप काम गर्न गाह्रो हुन्छ,’ उनले भने, ‘त्यहीँ भएर संरक्षण क्षेत्र ब्यवस्थापन नियमावली २०५३ र संरक्षण क्षेत्र ब्यवस्थापन निर्देशिका २०५६ संशोधन गरी पारित गर्छौ ।’
म्याद थप नहुँदा पहिलेको नियामावली निर्देशिका अनुसार काम गर्नु परेकोमा अब भने खुल्ला रुपमा काम गर्न सकिने उनको भनाइ छ । ‘पहिला काम गर्दा खुल्ला थिएन, समस्या हुन्थ्यो’ उनले भने, ‘अब मज्जाले खुल्ला रुपमा काम गर्न सक्छौं, कर्मचारी व्यवस्थापनमा पनि सहज हुन्छ, यो अघि कर्मचारी राख्ने नराख्ने भन्नेमा पनि अन्योलता थियो ।’ म्याद थप भएपछि प्राकृतिक स्रोत संरक्षण गर्ने, पर्यटन बिकास गर्ने र स्थानीय जन समुदायको आर्थिक उन्नति गर्ने उद्देश्यका साथ काम गर्ने उनले बताए ।




