
किचलोका कारण दुल्लभ माविमा आठ महिनादेखि व्यवस्थापन समिति गठन हुन सकेन
गोरखाको भिमसेनथापा गाउँपालिका वडा नं १ घ्याम्पेशालस्थित दुल्लभ माध्यमिक विद्यालयमा आठ महिनादेखि व्यवस्थापन समिति गठन हुन सकेको छैन । विद्यालयतको आन्तरिक खिचातानी र अनावश्यक हस्ताक्षेपका कारण समिति गठन हुन ढिला भएकोे बताइएको छ ।
व्यवस्थापन समितिको पदावधि सकिएको लामो समय भईसक्दा समेत विद्यालयले कुनै जानकारी नगराएको गाउँपालिकाका शिक्षा शाखा अधिकृत यानबहादुर नेपालीले बताए । विद्यालयलाई पटक–पटक ताकेता गर्दा समेत समयमा समिति पुनर्गठन नगरेको उनले बताए । ‘आउँदो शनिबारभित्र समिति गठन गर्न समय दिएका छौँ’, उनले भने, ‘निर्धारित समयसीमाभित्र समिति गठन भएन भने कारबाही हुन्छ ।’
यता विद्यालयका प्रधानाध्यापक मोहन सापकोटाले भने आन्तरिक समस्याका कारण समयमा समिति गठन हुन नसकेको बताए । ‘विद्यालयको आन्तरिक किचलोका कारण समिति गठन नभएको हो,’ उनले भने, ‘पालिकाले समिति गठन गर्न समय निर्धारण गरी सूचना समेत जारी गरिसकेको रहेछ । आउँदो पुस २८ गतेभित्र समिति गठन गर्न निर्देशन गरेको छ । सोही बमोजिम अभिभावकको नामावलीहरु प्रकाशन गरेका छौ । निर्वाचन कार्यक्रम तोक्ने तयारीमा छौँ ।’
विद्यालयको यसअघिको व्यवस्थापन समितिको म्याद गत चैत महिनामै सकिएको थियो । शिक्षा ऐन २०२८(आठौं संशोधन)को दफा १२(१) मा सामुदायिक विद्यालयहरुमा व्यवस्थापन समिति गठन गर्ने सम्बन्धी नियमावली अनुसार गतवर्षको चैतमा नै नयाँ समिति गठन गर्नु पर्ने हुन्छ । तर, विद्यालयको आन्तरिक विवादका कारण अहिलेसम्म समिति गठन हुन सकेको छैन् । हाल विद्यालय पुरानै व्यवस्थापन समिति मातहतमा चलेको छ ।
नयाँ समिति नहुँदा हाल पुरानै समितिले काम गरिरहेको छ । नयाँ समिति गठन नहुँदा शिक्षक सरुवा तथा अन्य आन्तरिक व्यवस्थापनमा कठिनाइ भएको विद्यालयले जनाएको छ ।




