
गोरखाका श्रेष्ठ र देवकोटा राष्ट्रिय सभाको चुनावी मैदानमा
आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गोरखाका दुईजना भिड्दैछन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ र नेकपा एमालेका तर्फबाट सम्झना देवकोटा चुनाव लड्ने भएका हुन् ।
श्रेष्ठ गण्डकी प्रदेशबाट अन्य कोटाबाट र देवकोटा पनि गण्डकी प्रदेशबाट महिला कोटाबाट चुनाव लड्ने भएका हुन् । निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार उनीहरु दुवै जनाले सोमबार उम्मेद्वारी दर्ता गराएका छन् । सोमबार उम्मेद्वारी दर्ता गरेका उम्मेद्वारविरुद्ध मंगलबार दावी विरोध गर्ने कार्यतालिका रहेको छ ।
सोमबार उम्मेद्वारी दर्ता गरेका ५२ जना उम्मेद्वारमध्य अन्यतर्फ श्रेष्ठसहित २१ जनाको उम्मेद्वारी दर्ता भएको छ भने महिलातर्फ देवकोटासहित १८ जनाको उम्मेद्वारी परेको छ । श्रेष्ठ र देवकोटासहित गण्डकी प्रदेशबाट विभिन्न कोटाअन्तर्गत आठ जनाको उम्मेद्वारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार रहेका किरणबाबु श्रेष्ठ गोरखा नगरपालिका ७ धारापानीका स्थायी बासिन्दा हुन् । श्रेष्ठ नेपाली कांग्रेसका गण्डकी प्रदेश समितिका महामन्त्री हुन् । पाँच दशकभन्दा लामो राजनीतिक यात्रा गरिसकेका श्रेष्ठले २०२९ सालदेखि राजनीतिक जीवन आरम्भ गरेका हुन् । उनी नेपाली कांग्रेस गोरखाको स्थापना कालदेखि अहिलेसम्म अनवरत पार्टी आन्दोलनमा क्रियाशील छ । कांग्रेस गोरखाको स्थापना भएको २०३४ सालमा गोरखामा प्रथम पटक गठित नेपाली काङ्ग्रेसको जिल्ला कार्य समितिको सदस्य बन्न सफल भएका थिए ।
त्यस्तै २०३६ सालको राजनीतिक आन्दोलनमा पक्राउ परी १५ दिन जेल सजायँ भोगेका थिए । फेरि २०३८ सालताका सञ्चालित राजनीतिक आन्दोलनका दौरानमा करिब एक महिना र २०४२ सालको सत्याग्रह आन्दोलमा गोरखा र तनहुँमा गरी ६ महिना जेल जीवन बिताएका थिए । २०५४ सालमा सम्पन्न तत्कालीन पृथ्वीनारायण नगरपालिकाको मेयर पदका लागि चुनाव लडेका श्रेष्ठ २०७० मा सम्पन्न प्रतिनिधि सभा सदस्य पदका लागि पनि चुनाव लडेका थिए ।
राजनीति शास्त्रमा स्नातकोत्तर योग्यताप्राप्त श्रेष्ठले २०५७ सालदेखि २०६७ सालसम्म जिल्ला कार्यसमितिको सचिव पदमा रहेर काम गरिसकेका छन् भने त्यसयता निरन्तर महासमिति सदस्यका रुपमा क्रियाशील छन् ।
राष्ट्रिय सभा सदस्यको पदका लागि उम्मेद्वारी दिएकी सम्झना देवकोटा गोरखा नगरपालिका ३ नारेश्वरकी स्थायी बासिन्दा हुन् । नेपाली कम्युनिष्ट आन्दोलनमा बिगत चार दशक लामो यात्रा गरेकी देवकोटा २०४० सालदेखिदेखि कम्युनिष्ट आन्दोलनमा होमिएकी हुन् । त्यतिबेला अनेरास्ववियु विन्ध्यावासिनी माविको प्रारम्भिक कमिटिको सचिव पदमा रहेर राजनीतिक गतिविधि सञ्चालन गर्दै आउका थिइन् ।
२०४५ सालमा अनेरास्ववियु गोरखा क्याम्पसको इकाईको सहसचिव पदमा रहेर काम गरेकी उनले २०४७ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेकी थिइन् । २०४८ सालमा अखिल नेपाल महिला संघ, जिल्ला कमिटीको संस्थापक अध्यक्ष बनेर महिला आन्दोलनको नेतृत्व गरेकी देवकोटा २०५४ सालबाट नेकपा(एमाले) जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा रहेर पार्टीको मोर्चामा आवद्ध छिन् ।
२०६६ सालमा नेकपा(एमाले) जिल्ला कमिटी सचिवमा निर्वाचित देवकोटा २०६८ मा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य, २०७४ मा नेकपा (एमाले) प्रदेश कमिटी सदस्य हुदै २०७८ मंसीरमा नेकपा(एमाले) केन्द्रीय कमिटी सदस्य तथा अखिल नेपाल महिला संघ केन्द्रिय कमिटी सदस्य रहेर काम गरिरहेकी छिन् । देवकोटा गतबर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट गोरखा नगरपालिकाको मेयर पदमा चुनाव लडेकी थिइन् । स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी देवकोटा राजनीतिक मात्र नभएर सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल छिन् ।




