
जग्गा विवादका कारण एकसातादेखि जगतमा सडक अवरुद्ध
जग्गा विवादका कारण बेनिघाट, आरुघाट, लार्के सडकको जगतखण्ड बिगत एकसातादेखि बन्द भएको छ । लामो समयपछि सडक मर्मतसम्भार गरेर गाडी चल्न थालेको एक, दुई दिनमै जग्गासम्बन्धी विवाद हुँदा जग्गाधनी सुकबहादुर गुरुङले बाटो अवरुद्ध गरेका हुन् ।
चुमनुब्री गाउँपालिका ३ को जगतबाट नाग्चेतसम्मको सडकखण्ड गत पुस १३ गतेदेखि अवरुद्ध भएको स्थानीय बलबहादुर गुरुङले बताए । एम्बुलेन्स, खाद्यान्न बोकेको सवारी साधन, निर्माण सामग्री ढुवानी गरेको सवारी साधन र मोटरसाइकलबाहेकका सवारी साधन जग्गाधनी सुकबहादुरले अबरुद्ध गरेको उनले बताए । ‘आकस्मिकबाहेक भाडाका यात्रु ओसार्ने सार्वजनिक सवारी साधन अवरुद्ध गरेका छन्’, उनले भने, ‘पहिले जहाँबाट सर्भे भएको थियो, त्यहीँबाट लैजानुपर्छ । जताततै मेरो जग्गाबाट सडक खन्न दिन्न भन्ने उहाँको कुरा छ ।’
बेनिघाट, आरुघाट, लार्के सडकको हावाडाँडादेखि लार्केसम्मको करिब ९२ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको छ । अहिले सिर्दिबासको पाङसिङ आसपास सडक निर्माण भइरहेको छ । ‘जगत बजारको बीचबाट, कुनाबाट र छेउबाट सर्भे गरिएको थियो’, जगतका स्थानीबासी गणेश कार्कीले भने, ‘तर सेनाले तलबाट बाटो निर्माण ग¥यो । त्यहाँ उहाँको मात्र जग्गा छ । त्यसैले बन्द गर्नुभएको होला ।’ जगत बजारको बीचबाट सडक निर्माण गर्दा बजारका घरहरुमा क्षति पुग्ने, बजारभन्दा माथिबाट सडक निर्माण गर्दा पनि बिस्फोटका क्रममा बजारमा क्षति पुग्ने उनले बताए ।
सुकबहादुर गुरुङले भने आफू धेरै उदार हुँदा पालिका र नेपाली सेनाको सडक निर्माण कार्यदलले समन्वय नै नगरी आफ्नो जग्गामा सडक निर्माण गरेको बताएका छन् । ‘गतबर्ष जगत बजार संरक्षण कार्यक्रमका लागि मैले डोजर लगेको बाटोमा सेनाले सडक कायम गर्न खोज्यो । त्यहाँ सर्भे नै भएको छैन’, उनले भने, ‘ममाथि अन्याय भयो भनेर मैले पालिकामा, जिल्ला प्रशासन कार्यालयमा र सेनाको मुख्यालयमा पनि ध्यानाकर्षण पत्र दिएको छु । माघ पाँचगतेभित्र वैकल्पिक समाधान खोज्छौँ भनेका छन् । त्योबेलासम्म हेरौँ ।’
स्थानीय बलबहादुर कार्कीले भने आफ्नै सबै जग्गा चर्चेर भए पनि माथिल्लो बाटो सडक लैजानु पर्ने विकल्प दिएका छन् । ‘जगतमा आएर विवाद भएको तीनबर्ष भइसक्यो । अहिलेसम्म निकास निस्केको छैन’, उनले भने, ‘बरु मेरो सबै जग्गा खाए पनि खाओस्, सडक त बजारभन्दा माथिल्लो बाटो लैजानु पर्छ ।’




