| बुधबार, कार्तिक २५, २०८३

गोरखा मेलामा कोसेली घरको अचारको आकर्षण


गोरखाको हरमटारी खेल मैदानमा जारी ‘कृषि, पर्यटन तथा व्यापार प्रबद्र्वन मेला–२०८०’ मा कोसेली घरको अचारले लोकप्रियता कमाएको छ । ओमन च्याम्बर अफ कमर्स गोरखाको ‘गोर्खाली कोसेली घर’ कार्यक्रमअन्र्तगत बनाइएका अचारका परिकारहरुले मेलामा मार्केट लिएको हो ।

ओमन च्याम्बरमा आबद्व महिलाहरुले मेलामा ‘गोर्खाली कोसेली घर’को स्टल सञ्चालन गरिरहेका छन् । गोरखामा घुम्न आउने पर्यटकहरुले गोरखाको कोसेली भनेर लैजाने बस्तु धेरै नभएकाले ओमन च्याम्बरले यहाँको स्थानीय उत्पादनलाई पर्यटकहरुमाझ चिनाउँन ‘गोर्खाली कोसेली घर’को स्थापना गरिएको हो ।

स्टलमा घरेलु उद्येगमा बनाईएका सामाग्रीहरु राखिएका छन् । मस्यौरा, आलुचिप्स, बेसार, मास, सिलाम, टिमुरको छोप, भटमास, कोदोको पिठो, मुलाको चाना, लोकल मह, लोकल चामल, बाटेको धुप र विभिन्न ६ प्रकारका अचारहरु सो स्टलमा छन् । सबै सामाग्रीहरु ओमन च्याम्बर आफैले बनाएका र यहीँका लोकल किसानहरुबाट लिएको स्टलमा कार्यरत ओमन च्याम्बरकी सदस्य बनु श्रेष्ठले बताइन् ।

‘मस्यौरा, आलुचिप्स, मुलाको चाना, बाटेको धुप र विभिन्न प्रकारका अचारहरु हामी आफैले बनाएका हौँ’, उनले भनिन्, ‘बाँकी पिठो, बेसार लगायत सामाग्रीहरु स्थानीय किसानहरुको उत्पादन हो ।’ महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले ओमन च्याम्बरले विभिन्न समयमा सदस्यहरुलाई जीवनउपयोगी तालिमहरु दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्