| बुधबार, कार्तिक २५, २०८३

गोरखालीलाई जेरी, समोसा चिनाउने पुरन्दर भन्छन्, गोरखाको कुरा अहिले सुनाउँदा कथाजस्तो लाग्छ

प्रतीक्षा आले मगर

गोरखा ः गोरखाको पहिलो मिठाई पसल हो बसपार्कको छेउमै रहेको ‘गोरखकाली मिष्ठान्न भण्डार ।’ पुरेन्द्रप्रसाद गुप्ताले सञ्चालन गर्दै आएको उक्त पसलले गोरखाको बिगत ४५ वर्षको समय पार देखेको छ । पुरेन्द्र प्रसाद २०३६ सालतिर उनको काकासँग गोरखा आएका थिए । त्यतिबेला उनी १८ बर्षको मात्र थिए ।
नेपालका गाउँबस्तीबाट नोकरी खोज्दै भारत जाने चलन अहिले पनि छ, त्यतिबेला झन धेरै थियो । तर उनी भारत(बिहार)बाट ३ कक्षा पढ्दा पढ्दै घर छोडेर गोरखा पसेको बताउँछन् ।

विगत सम्झदैँ उनी भन्छन् ,‘अहिलेको दुख त के दुख ! त्यतिबेला साह्रै गाह्रो थियो । खानलाउनको उस्तै दुख, किताब कापी किन्नको दुख, अचम्मको दुख थियो उतिबेला ।’ उनी कसैले ‘गोरखा जानू’ भनेको सुनेर काकाको पछि लागेर गोरखा आएको बताउँछन् ।
‘लहडबाजीमा गोरखा आइयो । आइपुगेपछि पो थाहा भयो, यहाँको हावापानी त साह्रै राम्रो रहेछ । छोड्नै मन नलाग्ने । अनि यतै बसेँ’, उनले भने, ‘म आउँदा हिडेर आएको हुँ । रोड भर्खर खनेको थियो, गाडी चलेको थिएन । नारायणगढ, मुग्लिन, खैरेनी कतै पनि पुल थिएन । सबै घाटमा डुङ्गा हुन्थे । खैरेनीबाट अबुवासम्म डम्फरमा चढेर आएँ । त्यहाँबाट दरौँदी खोला तरेर हिड्दैँ गोरखा आइपुगेँ ।’
४५ वर्षअघि उनले देखेको गोरखा बजार अर्कै थियो, बिल्कुल अर्कै । ‘थोरै घरहरु थिए, खरले र टिनले छाएका । रोड थिएन, मोटर थिएन । अहिले रोड भएका ठाउँमा कतै झाडी थियो, कतै सिँडी थियो । अहिले जुन ठाउँमा बजार जमेको छ(बसपार्क, हरमटारी) कतै पनि बजार थिएन ।’
त्यतिबेलाको गोरखा बजारको वर्णन गर्दा अहिले उनलाई कथा सुनाए जस्तो लाग्छ । गोरखा बजार आएपछि गुप्ताले केही समय काकासँगै काम गरे । त्यतिबेला बसपार्क त बनेकै थिएन ।

मुख्य बजार भनेको ठूलोआँगन थियो । त्यहाँ सानो–सानो खरले छाएका घरहरु थिए । उअहिले सबै अड्डाको काम अहिले संग्रहालय भएको दरबारबाट हुन्थ्यो ।
काकाले त्यहीँनेर चिनकाजी साहुको एउटा कोठा भाडामा लिएर समोसा, जेरी, मिठाई लगायतका खाजा बेच्न थाले ।

बजारका मानिसहरुका लागि त यो परिकार नयाँ थियो, झन् गाउँबाट अड्डा अदालतको काम लिएर आउनेका लागि त झन् नयाँ हुने नै भयो ।

त्यसैले, छोटो समयमै जेरी, समोसा खाजाको परिकार यहाँको स्थानीयले मन पराए । यसरी उनीहरुको पसल लोकप्रिय बन्यो । अरु खाजाको तुलनामा उनीहरुको खाजा सस्तो र मिठो पनि थियो ।
उनी भन्छन्, ‘हाम्रो खाजा पहाडी भेगमा पाइने जस्तो थिएन, बिल्कुल नयाँ स्वादको थियो । अनि, अरु खाजाभन्दा हाम्रो खाजा धेरै सस्तो पनि । सस्तोमा मिठो पाउने भएपछि बिस्तारै सबैले मन पराउँदै गए ।’

केही समय काकासँग मिलेर काम गरिसकेपछि पुरन्दर आफैले छुटै पसल खोले । ‘केहि समय काकासँग काम गरे, पछि अनुभव भयो अनी मैले छँुटै पसल सुरु गरे’, उनले भने, ‘पहिलाको पसल ठुलोआँगनमा थियो ।

पछि २०४२ सालतिर सरकारले दरबारको क्षेत्र बढायो । त्यहाँका धेरै घरहरु पनि दरबारको क्षेत्रभित्र गाभियो । रोड राम्रो बन्दै गएपछि गाडी चल्न थाल्यो अनि बल्ल यहाँ बसपार्क बन्यो । त्यसपछि मैले साहुसँग भनेर यही बसपार्कमा सानो कटेरो बनाएर पसल सुरु गरेँ ।’
बिगतका दिनहरु सम्झँदै उनले भने, ‘मैले बसपार्कमा झुप्रो ठड्याउँदा अहिले बजार भएको ठाउँ सबै खेत थियो । सबै मान्छेहरु खेती गर्थे ।’
त्यतिबेला यहाँका रैथानेहरुसंग घुलमिल भएर बस्न त्यति सहज थिएन । मधेशबाट आएर गोरखा बजारमा बस्ने उनको काकाभतिजा पहिलो ‘देशी जोडी’ थिए ।

भोजपुरी भाषा मात्र जान्ने उनीहरुलाई यहाँको भाषा, संस्कृति, चालचलन बुझ्न धेरै समय लाग्यो ।

त्यो कठिन समय सम्झँदै उनले भने, ‘हामी सुरुमा आउँदा गाह्रो थियो, मानिसहरुले हेलाँ गर्थे । छुवाछुत् गर्थे । अहिले त गोरखा बजारभरि मधेसी छन्, सामान्य जस्तै भैसक्यो, तर हाम्रो पालामा त्यस्तो सहज थिएन ।’

धेरै संघर्ष गरेर अहिले यहाँसम्म आईपुगेको उनी बताउँछन् ।
उनी भन्छन्, ‘यही गोरखाको माथि गाउँतिरको मान्छेहरुलाई त बजार आएर बस्न, घुलमिल हुन गाह्रो हुन्छ भने झन् हामी त बाहिर देशबाट आ’को, सुरुमा सजिलो थिएन ।’
पुरानो बजार सम्झँदै उनी भन्छन्, ‘कुनै दिन यति विकास होला भनेर कहिल्यै सोचिएन । पुख्र्यौली थलो भएर होला, बेलाबेला राजा आइरहनुहुन्थ्यो । राजाकै चाहना अनुसार यो पार्क, यो संग्रहालय बनेको हो । माथिको डाँडा हरियाली भएको पनि राजाकै आदेशले हो । बजारका यी सबै घरहरु मेरै आँखा अगाडि बनेको हो ।’
परिवारमा उनको दुई छोरा, एक छोरी र श्रीमती छन् ।

‘पहिला म आएँ व्यापार गरेँ त्यसपछि यहाँ सबै व्यवस्था भएपछि परिवारलाई पनि यतै ल्याएँ’, उनले भने, ‘उता बिहारको र यता गोरखाको संस्कृति फरक भएतापनि सबैजनालाई यतै ल्याएर पढाएँ, बढाएँ ।’
४५ वर्षअघि गोरखा आएका पुरन्दरलाई यहाँको हावापानी मनपर्यो । आफ्नो देश छोडेर नेपाल आएका उनी फर्कन चाहेनन् । ‘उता बिहारमा त धेरै गर्मी थियो, धेरै दुख थियो । त्यसैले यता आएँ । यहाँको हावापानी सबै राम्रो लाग्यो, व्यापार पनि राम्रै भयो त्यसैले फर्कन सकिँन ।’
आफुलाई गोरखा निकै फापेको पुरन्दर बताउँछन् । अहिले व्यापार जे जस्तो भए पनि नेपाल बनाउने ऐतिहासिक जिल्लामा आएर सबैलाई नयाँ खानेकुरा चिनाएर, मन पर्ने खाजा बेचेर उनी अहिले सन्तुष्ट जीवन बिताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्