| बुधबार, कार्तिक २५, २०८३

गोरखाबाट नेपाली सेनाको एकीकरण पदयात्रा शुरु

बिगतका बर्षजस्तै यस बर्ष पनि गोरखाबाट नेपाली सेनाले एकीकरण पदयात्रा शुरु गरेको छ । नेपाल एकीकरणको क्रममा प्रयोग भएको गोरखादेखि काठमाण्डौसम्मको ऐतिहासिक पदमार्गमा शनिवारबाट पदयात्रा शुरु भएको हो ।

शनिवार गोरखा दरवारबाट शुरु भएको पदयात्रामा अधिकृतको कमाण्डमा ३० जनाको टोली सहभागी छन् । उनीहरु टर्च र नेपाली सेनाको पहिलो पाँच कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्द बहादुर गण र सबुज गणको झण्डा सहित पदयात्रामा सहभागी भएको रिपुमर्दन गणका गणपती अशोक कुमार क्षेत्रीले बताए ।

उनीहरुलाइ गोरखा दरवार परिसरमा एक कार्यक्रमका बीच टर्च र झण्डा हस्तान्तरण गरेर बिदाई गरिएको छ । पश्चिम पृतना हेडक्वाटर पृतनापति उपरथी सन्तोष बल्लभ पौडेल र स्थानीय जनप्रतिनिधिले संयुक्त रुपमा उनीहरुलाई टर्च र झण्डा हस्तान्तरण गरेका हुन् ।

गोरखाको टोलि पिपलथोक, ताप्ले, अश्राङ, बोर्लाङ हुदै घाटवेशी पुग्ने र टर्च र झण्डा धादिङको शिवदल गणलाई बुझाउने गणपती क्षेत्रीले बताए । ‘गोरखाले धादिङलाई बुझाउछ, धादिङले नुवकोटमा तैनाथ जबरजंग गणलाई र नुवकोटले काठमाण्डौ नागार्जुन स्थित कालीध्वज गणलाई झण्डा र टर्च हस्तान्तरण गर्छन्,’ उनले भने । कालीध्वज गणले पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा हनुमानढोकामा आयोजना हुने कार्यक्रमका लागी पुस २६ गते साँझसम्म हनुमानढोका स्थित शार्दुलजंग गुल्मलाई टर्च र झण्डा हस्तान्तरण गर्ने बताइएको छ । ३०२ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने क्रममा गोरखाबाट पदयात्रा सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।

ऐकीकरण मार्ग लगायत ऐतिहासिक धरोहरहरुको जगेर्नासँगै पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ २०७६ सालदेखि नेपाली सेनाले एकीकरण मार्गमा पदयात्रा गर्दै आएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा, गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर राना मगर, भिमसेनथापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जारा, गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, गोरखा नगरपालिकाका उपमेयर मसलीमाया थोकर लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्