
रेडक्रस गोरखाका कार्यालय प्रमुखले कोषाध्यक्ष कुटे
बिकास मरहट्टा :
नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाका कोषाध्यक्ष ज्ञानहरी अर्यालमाथि हातपात भएको छ । संस्थाका कार्यालय प्रमुख सुवास घिमिरेले उनीमाथि हातपात गरेका हुन् । सोमवार कार्यालयस्थित सभापतिको कार्यकक्षमा छलफल भइरहेका बेला तलबको बिषयलाई लिएर घिमिरेले आफूमाथि हातपात गरेको कोषाध्यक्ष अर्यालले बताए ।
‘माघमा संस्थाको अधिवेशन पनि घोषणा भइसकेकाले तिरोतारो र कर्मचारीको तलव दिने बिषयमा छलफल भइरहेको थियो,’ उनले भने, ‘घिमिरेले असोज महिनाको तलव र दशैँ पेश्कीको एकैपटक चेक काट्न भने, मैले ब्लड बैँकमा ल्याएको सामानको केही रकम तिरेर अहिलेलाई असोज महिनाको तलव मात्र तलबको चेक काटौँ । अहिले संस्थामा आर्थिक संकट पनि छ, बाँकी पछि सम्बोधन गर्दै जाउँला भनेँ ।
त्यही बेला एक्कासी तलवको चेकमा किन सही नगरेको भन्दै मेरो कठालो समाउन आउनुभयो ।’ सभापति, मन्त्री र उपमन्त्रीकै अगाडि आफूमाथि हातपात भएको उनले बताए ।
उनले गर्दै आएको मनपरी खर्चमा कडाइ गरेकाले पनि आफूमाथि जाइलागेको हुनसक्ने उनको भनाइ छ । ‘मैले इन्धन लगायतका केही खर्चमा अलिकति कडाइ गरिदिएँ । त्यही भएर पनि मसँग रुष्ट भएर रिसिवी लिएको हुनसक्छ,’ अर्यालले भने ।
हातपात भएसँगै बैठक राख्न आफूले सभापति र मन्त्रीलाई माग गरेको उनले जानकारी दिए । ‘पर्सि बैठक राख्ने भन्नुभएको छ, भएन भने प्रहरीको जायरी दिन्छु,’ उनले भने ।
संस्थाका सभापति यदुविलास भट्टराईले यस बिषयमा आफू धेरै नबोल्ने बताए । ‘उनीहरु मामा भान्जा पनि हुन्, तलवको बिषयलाई लिएर मेरै अगाडि भनाभन भएको हो, हामीले मिलाउने प्रयास गरिरहेका छौ,’ उनले भने । यस बिषयमा तत्काल बैठक राखेर छलफल नगरे कार्यालयमा ताला लगाउने संस्थाका केही पदाधिकारीहरुले चेतावनी दिएका छन् ।
सामाजिक कार्यमा अंग्रसर रही सामाजिक संस्थाको रुपमा छुट्टै छवि बनाउने सफल बन्दै आएको रेडक्रस यस्तै घटनाहरुले पछिल्लो समय विवादित हुदै आएको छ ।
यसअघि पनि रेडक्रस गोरखाले संस्थाको नाममा रहेको एम्वुलेन्स कार्यसमितिलाई जानकारी नगराई कार्यालय प्रमुख घिमिरे र केही पदाधिकारीको मिलोमतोमा बेचबिखन भएपछि संस्था आलोचित बनेको थियो ।
रक्तसंचार केन्द्र र त्यहाँका कर्मचारी प्रति घिमिरेको सकारात्मक सोच नभएकाले पनि संस्थामा विवादहरु हुने गरेकोबताइएकोछ। यस विषयमा कार्यालय प्रमुख घिमिरेसँग बुझ्न खोज्दा फोन सम्पर्क हुन सकेन ।




