| बुधबार, कार्तिक २५, २०८३

नेसपाद्वारा राजेन्द्र पराजुलीमाथिको कारबाही फुकुवा


नेपाल सामाजवादी पार्टी(नेसपा)ले केन्द्रीय संघीय परिषद्का सदस्य राजेन्द्र पराजुलीमाथि गरिएको कारवाही फुकुवा गरेको जनाएको छ । हालै एक प्रेस बक्तव्य जारी गरी पार्टीले अब पराजुली साविककै पद र जिम्मेवारीमा बहाल रहेको जनाएको छ ।


आरुघाट गाउँपालिका वडा नं. ७ निवासी पराजुलीले गत संघ र प्रदेशको चुनावमा पार्टीको आचारसंहिता विपरीत बागी उम्मेद्वारी दिएका थिए । क्षेत्र नं. १ प्रदेश ख बाट बागी उम्मेद्वारी दिएका पराजुलीलाई पार्टी केन्द्रले अघिल्लो वर्षको कात्तिक १७ गते कारवाही गरेको थियो ।

‘चुनावका बेला पार्टीमा छलफल भएपछि उहाँलाई बागी उम्मेद्वारी नदिन आग्रह गर्दा पनि उम्मेद्वारी दिनुभयो । उम्मेद्वारी दिएपछि पनि फिर्ता लिन भनियो तर उहाँ सम्पर्कमा आउनु भएन’, केन्द्रिय कार्यालय प्रमुख रोशन पोखरेलले भने, ‘सम्पर्कमा नआएपछि केन्द्रिय सदस्य भएकोले केन्द्रले नै कारवाही गरेको हो ।’ पराजुलीलाई गरिएको कारबाही एक वर्षपछि पुस १५ गते औपचारिक रुपमा पत्र काटेर फुकुवा गरिएको उनले बताए ।

पराजुलीले पार्टीको विचार, नीति र अनुशासनलाई आत्मसात गर्दै पुनः पार्टीमा आबद्ध रही क्रियाशील भई काम गर्ने प्रतिबद्धता समेत जनाएको केन्द्रीय कार्यालय प्रमुख पोखरेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्