
ठेकेदारलाई काम लगाउन खुट्टा कमाउँछ सडक कार्यालय, कार्यालय प्रमुख भन्छन्ः पैसा छैन कसरी काम लगाउने ?
ठेक्का लिएर योजना अपलत्र पार्ने ठेकेदारलाई काम लगाउन गोरखा सडक योजना कार्यालयले खुट्टा कमाउने गरेकोे छ । ठेकेदारलाई सम्पर्क गरेर काम अह्राउन समेत कार्यालयले सकेको छैन । सो कुरा कार्यालयका प्रमुख अमिन्द्र खड्का आफै स्वीकार गर्छन् । भन्छन्, ‘काम गरेपछि पैसा माग्छन्, तर बजेट छैन । त्यही भएर काम गर भनेर भन्न पनि सकेको छैन ।’ नियमन निकाय नै कमजोर बनिदिएपछि काममा ठेकेदारको लापरवाही देखिएको छ ।
समयमै सम्पन्न हुन नसकेर अलपत्र परेका केही योजनाहरुले यसको पुष्टी गर्छन् । आरुघाट गाउँपालिका वडा नम्वर ३ र ४ जोड्ने अजुवा खोलामाथिको मोटरेवल पुल निर्माणमा ठेकेदारको ढिलासुस्ती छर्लङ्ग छ । निर्माण सुरु भएको ६ बर्षसम्म पनि योजना सम्पन्न हुन सकेको छैन । सातबर्षको अवधिमा कामको प्रगति जम्मा ८० प्रतिशत मात्र रहेको कार्यालय प्रमुख खड्का बताउँछन् । उनका अनुसार १८ महिनामा काम सक्ने गरी कन्काई गोरखा एप्रोपियट जेभीसँग २०७४ साउन २१ गते ठेक्का सम्झौता भएको हो । हालसम्म चार पटक म्याद थप भइसक्यो, तर अझै योजना सम्पन्न भएको छैन । अन्तिम पटक थप भएको म्याद अनुसार २०८० असार २५ गते काम सक्नुपथ्र्याे । तर अहिलेसम्म योजना सम्पन्न हुन सकेको छैन । काममा ढिलासुस्ती गर्ने निर्माण कम्पनी म्याद थपका लागी कार्यालयसँग गुहार गरिरहेको छ ।
त्यस्तै पालुङटार नगरपालिका वडा नम्वर ३ र लमजुङको राइनास नगरपालिका वडा नम्वर ४ जोड्ने चेपे खोलामाथि निर्माणाधीन मोटरेवल पुल पनि समयमै सम्पन्न हुन नसकेको अर्काे योजना हो । पुल निर्माणका लागि २०७७ साल जेठ २८ गते बिकोइ बिल्डर्स प्रालिसँग कार्यालयले ठेक्का सम्झौता गरेको हो । सम्झौता अनुसार २०७९ मंसिर मसान्तभित्र काम सक्नुपथ्र्याे, तर भएन । कार्यालयले म्याद थप गरिदियो । थप भएको म्याद गुज्रिदा पनि योजना सम्पन्न हुन सकेन । हालसम्म कामको प्रगति ४६ प्रतिशत मात्र छ ।
काममा लापरवाही र ढिलासुस्ती गर्ने यी निर्माण कम्पनीहरुलाई कार्यालयले काम अह्राउन भने खुट्टा कमाइरहेको छ । योजनाका लागि पर्याप्त बजेट विनियोजन नहुँदा काम लगाउन नसकिएको कार्यालय प्रमुख खड्काले बताए । उनले भने, ‘चेपे खोल पुलको ठेक्का रकम ७ करोड ५७ लाख हो, हालसम्म तीन करोडमात्र भुक्तानी दिएका छौ, अझै चार करोड जति रकम भुक्तानी गर्नुपर्छ तर यो बर्ष यस योजनामा ८९ लाख ३० हजार रकम मात्र आएको छ, अनि कसरी काम लगाउने ?’ त्यस्तै अजुवा खोला पुलका लागी यो बर्ष ५० लाख मात्र रकम विनियोजन भएको उनले जानकारी दिएन । ‘यो योजनाको ठेक्का रकम करिव चार करोड हो, अहिलेसम्म ३ करोड १८ लाख भुक्तानी भएको छ, अझै करिव ८० लाख चाहिन्छ तर ५० लाख मात्र बजेट आएको छ अनि के भनेर काम अह्राउने ?,’ उनले भने । बजेटकै कारण ठेकेदारलाई काम लगाउन समस्या भएको उनले बताए ।




