
गाउँबस्ती रित्तिएपछि दैनिक उपभोग्य बस्तुको सप्लाई दोब्बर घट्यो
गाउँबस्तीका बासिन्दा धमाधम सहर पलायन हुन थालेपछि गोरखाका ग्रामीण क्षेत्रमा खाद्यान्न सप्लाईदोब्बर घटेकोछ । गाउँबस्तीका बजार सुनसान छन्, खचाखच हुने पसलहरुमा पनि फाट्टफुट्ट मात्र ग्राहक पस्ने गरेका छन् ।
ग्रामीण क्षेत्र खालि भएको संकेत सदरमुकामबाट थोकबिक्रेताहरुमा पनि देखिएको छ । पछिल्लो तीन वर्षयता खाद्यान्नलगायत दैनिक उपभोग्य सामानको माग र सप्लाईदोब्बर घटेकोसप्लायर्सहरु बताउँछन् ।
बसाइँसराइ र आर्थिकमन्दीले गाउँघरतिर खाद्यान्न सप्लाई ह्वात्तै घटेको गोरखा सदरमुकामका खाद्यान्न सप्लायर्स अनु श्रेष्ठ बताउँछन् । ‘तीनबर्षअघिसम्म बिहान झिस्मिसेदेखि, बेलुका अबेरसम्म गोदाम अगाडि खाद्यान्न बोक्ने गाडी लोड र अनलोड भइरहन्थ्यो । आँगनमा ट्रक, ट्याक्टर कहिल्यै खालि हुदैनथ्यो’ उनले भने, ‘अहिले सबै विदेशै गएका छन्, सबै सहरै झरेका छन् । खानेमान्छे नभएपछि खाद्यान्न किन बिक्थ्यो ।गाउँघरमा बुढाखाडा र केटाकेटी मात्र छन् । खाद्यान्न मात्र होइन, लुगा कपडा पनि बिक्दैन ।राम्रो लाउने र मिठो खाने नभएपछि व्यापार हुन छोड्यो । व्यापारीहरुले नयाँ बिकल्प खोजिरहेका छन् ।’ हिजोआज गाउँघरमा युवापुस्ता देख्नै गाह्रो पर्ने उनले बताए ।
सदरमुकामकैअर्काखाद्यान्नसप्लायर्स मनकाजी श्रेष्ठको अनुभवपनि उस्तै छ । पहिलाको तुलनामा अहिले खाद्यान्नसप्लाई झन्डै आधैले कम भएको उनले बताए । दैनिक करिब १५÷२० ट्रक सामान गाउँतिर जान्थ्यो तर अहिले दैनिक २÷४ गाडी सामान मात्र जाने गरेको उनी बताउँछन् ।
‘अहिले मानिसहरुको सहर पस्ने लर्कोका कारण जिल्लामा खाद्यान्नल्याउने र ग्रामीण क्षेत्रमा पठाउने दर ह्वात्तै घटेको छ’,उनले भने, ‘अहिले उपभोक्ता नै छैनन् । गाउँमा सबै बृद्धबृद्धा मात्र छन् ।’ देशमा रोजगारी नभएकाले ठूलो सङ्ख्यामा युवाहरु बिदेशिएका छन् । खाद्यान्न व्यवसाय मात्र नभई अहिले सबै व्यवसायहरु ओरालो लागेको उनी बताउँछन् ।
दुर्गम क्षेत्रतिर खाद्यान्न सप्लाई गर्ने आरुघाट गाउँपालिका ४ आर्खेतका व्यवसायी परिचित अधिकारी भन्छन् ‘गाउँतिरका मानिसहरु बिस्तारै सहर झरेका छन् त्यसैले अहिले व्यापार नै छैन । तीनबर्ष अघि र अहिलेको तुलना गर्दा ५० प्रतिशत नै कम भएको छ ।’ तल्लो भेगमा गाडीबाट रयातायातका साधन नचल्ने ठाउँमा खच्चड मार्फत सामान ढुवानी गर्ने गरेको उनी बताउँछन् ।
उनले आरुघाट, धार्चे र चुमनुब्री लगायत गोरखाको माथिल्लो भेगमा खाद्यान्नसप्लाई गर्ने गर्दछन् । खाद्यान्नको उपभोक्ता घट्दै जान थालेपछि अहिले व्यवसायको अरु विकल्प पनि खोजिरहेको उनी बताउँछन् ।
राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार जिल्लामा १२.५२ प्रतिशत घर खालि भएका छन् ।




