| बुधबार, कार्तिक २५, २०८३

गोरखामा चिनियाँ लगानीमा ठूलो एग्रिकल्चरल पार्क बन्ने प्रधानमन्त्रीको खुलासा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखामा चिनियाँ लगानीमा धेरै ठूलो क्षेत्रफलमा एग्रिकल्चरल पार्क बन्ने खुलासा गरेका छन् । बुधबार गोरखाको बारपाक सुलीकोट गाउँपालिकामा आयोजित ‘स्थानीय सरकार र सरोकारवालासंग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले यो खुलासा गरेका हुन् ।

गोरखामा ठूलो एग्रिकल्चर एण्ड टेक्निकल पार्क बनाउन चीन सरकारसँग सहमति समेत भइसकेको उनले बताए । पार्क बनाउन दुई देशबीच सम्झौता समेत भएको उनले जानकारी दिए । ‘म चीन भ्रमणमा गएको बेला एउटा ठूलो एग्रिकल्चर एण्ड टेक्निकल पार्क बनाउने कुरामा सहमत भएको छ, त्यहाँको प्रधानमन्त्री र मैले हस्ताक्षर गरेका छौँ, उहाँहरुको चाहना अन्यत्र बनाउने थियो तर मैले गोरखामा बनाउनुपर्छ भनेँ । अब गोरखामै यो पार्क बन्ने सहमति भइसकेको छ । सायद जेठ महिनाभित्र त्यहाँका इन्जिनियर र टेक्निकल टिम आएर यहाँ अध्ययन गर्ने र प्रक्रिया अगाडि बढाउने कुरा भएको छ,’ उनले भने । यसले गोरखाली जनतालाई रोजगारीका साथै गोरखाको आर्थिक बिकास र समृद्धिका निम्ति महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

बहुप्रतिक्षित १२०० मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाको छिट्टै आफैले शिलान्यास गर्ने पनि उनले उद्घोष गरेका छन् । बूढीगण्डकी आयोजना निर्माणको काम अघि बढ्ने र यसका लागि स्रोतको जोहो भइसकेको पनि बताए ।

बूढीगण्डकी आयोजना निर्माणका लागि आर्थिक अभाव हुन नदिन भौतिक पूर्वाधारका निम्ति उठाइने रकमको पाँच प्रतिशत आयोजनामा हाल्ने निर्णय भएको बताए । ‘बुढीगण्डकी के होला कसो होला भन्ने भइरहेको थियो,’ उनले भने, ‘मैले केही समय अगाडि क्याविनेटबाट भौतिक पूर्वाधारका निम्ति उठाउने रकमको पाँच प्रतिशत बुढीगण्डकीमा हाल्ने निर्णय गरेर अब आर्थिक अभाव हुन नदिने र छिटै बूढीगण्डकी परियोजनालाई शिलन्यास गर्न म आउँदै छु ।’ लामो समयदेखि बन्द रहेको गोरखकाली रवर उद्योगलाई पब्लिक प्राइभेट पार्टनरसिप (पिपिपि) मोडेलमा संचालन गर्न गृहकार्य भइरहेको उनले जानकारी दिए ।

त्यस्तै बारपाकमा चलिरहेको प्राविधिक शिक्षालयका लागि छात्रावास निर्माण गर्ने कार्यलाई पनि अघि बढाइने उनले बताए । ‘अहिलेलाई ५० लाख मात्र भयो भने पनि छात्रावास निर्माणको काम अघि बढाउन सकिन्छ भनेर पालिका अध्यक्षले भन्नुभएको छ, अव त्यो अगाडि बढ्छ,’ उनले भने ।

पालुङटारमा रहेको आँपपिपल अस्पतालको सन्दर्भ जोड्दै उनले उक्त अस्पताललाई ५० शैयाको स्वीकृती प्रदान गरिने बताए । उनले भने, ‘उहाँहरुले अहिलेलाई स्वीकृती र जनशक्तिको मात्र व्यवस्थापन गरिदिनु भन्नुभएको छ, अव स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर त्यो काम अघि बढ्छ ।’

प्रतिक्रिया दिनुहोस्