| बुधबार, कार्तिक २५, २०८३

छिट्टै बुढीगण्डकी परियोजनाको शिलन्यास गर्न म आउँदै छु: प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अव छिट्टै बुढीगण्डकी आयोजना निर्माणको काम अघि बढ्ने बताएका छन् ।

बुधवार गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आयोजित ‘स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले आयोजना निर्माणका लागी आर्थिक अभाव हुन नदिन भौतिक पूर्वाधारका निम्ति उठाइने रकमको पाँच प्रतिशत आयोजनामा हाल्ने निर्णय भएको बताए ।

‘बुढीगण्डकी के होला कसो होला भन्ने भइरहेको थियो,’ उनले भने, ‘मैले केही समय अगाडी क्याविनेटबाट भौतिक पूर्वाधारका निम्ति उठाउने रकमको पाँच प्रतिशत बुढीगण्डकीमा हाल्ने निर्णय गरेर अव आर्थिक अभाव हुन नदिने र छिटै बुढीगण्डकी परियोजनालाई शिलन्यास गर्न म आउँदै छु ।’

लामो समयदेखि बन्द रहेको गोरखकाली रवर उद्योगलाई पब्लिक प्राइभेट पार्टनरसिप (पिपिपि) मोडेलमा संचालन गर्न गृहकार्य भइरहेको उनले जानकारी दिए । त्यस्तै बारपाकमा चलिरहेको प्राविधिक शिक्षालयका लागी छात्रावास निर्माण गर्ने कार्यलाई पनि अघि बढाइने उनले बताए ।

‘अहिलेलाई ५० लाख मात्र भयो भने पनि छात्रावास निर्माणको काम अघि बढाउन सकिन्छ भनेर पालिका अध्यक्षले भन्नुभएको छ, अव त्यो अगाडी बढ्छ,’ उनले भने ।

पालुङटारमा रहेको आपपिपल अस्पतालको सन्दर्भ जोड्दै उनले उक्त अस्पताललाई ५० शैयाको स्वीकृती प्रदान गरिने बताए । उनले भने, ‘उहाहरुले अहिलेलाई स्वीकृती र जनशक्तिको मात्र व्यवस्थापन गरिदिनु भन्नुभएको छ, अव स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर त्यो काम अघि बढ्छ ।’

गोरखामा ठुलो ‘एग्रिकल्चर एण्ड टेक्निकल पार्क’ बनाउन चीन सरकारसँग सहमति समेत भइसकेको उनले बताए । पार्क बनाउन दुई देशबीच सम्झौता समते भएको उनले जानकारी दिए ।

‘म चीन भ्रमणमा गएको बेला एउटा ठुलो एग्रिकल्चर एण्ड टेक्निकल पार्क बनाउने कुरामा सहमत भएको छ, त्यहाँको प्रधानमन्त्री र मैले हस्ताक्षर गरेका छौ, उहाँहरुको चाहना अन्यत्र बनाउने थियो तर मैले गोरखामा बनाउनुपर्छ भने, गोरखामै यो पार्क बन्ने सहमति भइसकेको छ, सायद जेठ महिनाभित्र त्यहाँका इन्जिनियर र टेक्निकल टिम आएर यहाँ अध्ययन गर्ने र प्रक्रिया अगाडी बढाउने कुरा भएको छ,’ उनले भने ।

यसले गोरखाली जनतालाई रोजगारीका साथै गोरखाको आर्थिक बिकास र समृद्धिका निम्ति महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्