| बुधबार, कार्तिक २५, २०८३

दोभान–जगत सडकखण्ड सुचारु, पाङ्सिङ्सम्म गाडी चलाउने तयारी


मेलिना बराम

सात महिना अवरुद्ध सडक मर्मत भएपछि चुमनुब्री गाउँपालिका ३ जगतसम्म सडक सुचारु भएको छ । बर्खा महिनाभरि झरेको पहिरोले अवरुद्ध बनेको सो सडकखण्डको दोभानदेखि जगतसम्मका पहिरोहरु पन्छ्याए पनि सडक सुचारु भएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।

सो सडकखण्डमा पहिलो पटक गत बैशाख १५ गते सवारी सञ्चालन गरिएको थियो । तर बर्खामा झरेको पहिरोले गत असारदेखि सडक अबरुद्ध थियो । धार्चे र चुमनुब्री गाउँपालिका, एघारकिलो छेपेटार बारपाक सडक आयोजना र नेपाली सेनाको सडक निर्माण कार्यदलको सहकार्यमा केही दिनअघि सडक मर्मतसम्भार गरिएको हो । सडक सुचारु भएलगत्तै केहीदिनअघि जगतसम्म बस सञ्चालन गरिएको छ । तर सो बस सडक निर्माण गर्ने नेपाली सेनासंग समन्वय नगरी अनौपचारिक रुपमा मात्र सञ्चालन गरिएको हो ।

नेपाली सेनाले सो खण्डमा नियमित सवारी साधनका लागि केहीदिनभित्रै बाटो खुल्ला गर्ने जनाएको छ । ‘केहीदिनअघि बस पुगेको भन्ने जानकारी पाएँ, त्यो समन्वय बिना सञ्चालन भएको हो’, सडक निर्माण कार्यदलका प्रमुख मेजर विनोद भट्टले भने, ‘अबको केही दिनभित्रै जगतसम्म यातायातका साधन सुचारु हुनेछ ।’ जगतभन्दा परको नाग्चेतसम्म सवारी साधन चलाउने उनले बताए । ‘नाग्चेतसम्म त गत वैशाखमै सवारी साधन चलेको थियो । अब हामी केहीदिनभित्र पाङसिङसम्म गाडी पु¥याउने प्रयासमा छौँ’, उनले भने ।

गाउँसम्म सडक सुचारु भएपछि स्थानीयबासी धेरै हर्षित भएको गणेश कार्कीले बताए । ‘अस्ति गाँउपालिका अध्यक्षज्यू जीप चढेर गोरखा सम्म जानुभयो । फेरिे हिजो राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुन गएका वुद्ध माविका १७ जना विद्यार्थी बोकेर फोरह्विल बस जगतसम्म आयो’, उनले भने, ‘हामी त सबै चकित पर्यौ, अहिले सम्म जिप मात्रै चल्थ्यो पहिलो चोटी यात्रुबवाहक बस नैै गाउँ आइपुग्यो ।’ गाउँसम्म सवारी साधन आवतजावत भएपछि धेरै राहत पुगेको उनको भनाइ छ ।

‘अहिले गाँउसम्म जिपहरु आउँछन्, त्यसले धेरै नै सजिलो भाको छ’, उनले भने, ‘पहिला एक केजी सामान ढुवानीको २० रुपैँया पथ्र्यो, अहिले प्रतिकेजी ४, ५ रुपैयाँमा नै समान ढुवानी हुन्छ । पाङसिङसम्म मात्र सवारी साधन चल्यो भने पनि सिर्दिबास, चुमभ्याली, नुब्रीभ्यालीका बासिन्दाले धेरै सहुलियतमा उपभोग्य सामान पाउन सक्छन् । सदरमुकाम पुग्ने समय पनि धेरै नै छोटिनेछ ।’ छिटोछिटो सडक निर्माण गरेर सञ्चालन गरिदिए माथिल्लो भेगका बासिन्दाको जीवनचर्या सहज हुने उनले बताए ।

बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ अन्तरगतको ६२ किलो मिटर सडक ११ किलो छेवेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयले निमाण गरेको हो । बेनीघाटबाट आरुघाट हुँदै लार्के भञ्ज्याङसम्मको सडक निर्माणको काम सुरुमा सडक विभाग अन्तर्गत नै भइरहे पनि लापूको हावाडाँडाको भीरमा पुगेर रोकिएको थियो । त्यसपछि कडा चट्टानसहितको भिर फुटाएर ट्रयाक बनाउने जिम्मा नेपाली सेनालाई दिइएको हो ।

२०७४ वैशाख ११ गतेदेखि औपचारिक रूपमा सेनाले सो ट्रयाक निर्माणको काम सुरु गरेको हो । अहिले सिर्दिवाससम्म ३६ किलोमिटर ट्रयाक निर्माण सकिएको सडक निर्माण कार्यदलका प्रमुख मेजर विनोद भट्टले जानकारी दिए । जसमध्य ३२ किलोमिटरसम्म सवारी सञ्चालन योग्य छ ।

सो यस खण्डअन्तर्गत खोर्लाखोला, न्याउली खोला, खानीखोला लगायतका ठाउँमा सडक, पुल निर्माण गर्न बाँकी छ । माछाखोलामा भने नेपाली सेनाले नै बेलीब्रिज निर्माण गरेको छ । पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाटबाट बूढीगण्डकी नदीको किनारै किनार निर्माण भएको सडकको लार्के भञ्ज्याङसम्मको लम्बाइ १५४ किलोमिटर रहेको छ । त्यसमध्ये हावाडाँडाबाट लार्केभञ्ज्याङसम्मको ९२ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनाले लिएको हो । अब करिब ६० किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको छ ।

उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो राजमार्गका रुपमा लिइएको सो सडक निर्माणका लागि गतबर्ष १५ करोड रुपैयाँ विनियोजन भएको थियो । प्रधानमन्त्री, गृहमन्त्री, मुख्यमन्त्री गोरखाकै भएकाले यसबर्ष बजेटको दायरा बढ्ने अपेक्षा गरे पनि जम्मा १० करोडमात्र विनियोजन भएको भन्दै स्थानीयबासीले दुख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्