
कृषि, पर्यटन र व्यापारमा तीन तहका सरकार बीच समन्वय गरेर अघि बढ्ने
कृषि, पर्यटन र व्यापारमा तीन तहका सरकार बीच समन्वय गरेर अघि बढ्ने उद्घोष गर्दै गोरखा उद्योग वाणिज्य संघको ४८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघको कार्यालयमा परिसरमा शनिबार भएको कार्यक्रममा उद्योग वाणिज्य महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण बैद्य र हेमराज ढकालले उद्घाटन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले उद्योग वाणिज्य संघले स्थानीयस्तरका उत्पादनलाई प्रबद्र्धन गर्दै उद्यमशीलतालाई जोड दिनुपर्ने बताए । अहिले सामान्य आवश्यकता टार्नका लागि पनि बहुराष्ट्रिय कम्पनीका सामग्री आयात भइरहँदा नेपाली व्यवसायीहरु दिन प्रतिदिन परनिर्भर हुदै गएको उनले बताए ।त्यसैले स्थानीयलाई रोजागरी प्रदान गर्न, आयआर्जनमा सुधार गर्नका लागि साना तथा मझौला उद्योग स्थापना गर्नमा निजी क्षेत्रले जोड दिनुपर्ने उनले बताए ।
त्यस्तै, गोरखमा पर्यटन क्षेत्रका विकास र विस्तारलाई पूर्वाधार निर्माण गर्नुपर्ने देखिएको पनि उनले बताए । यस्तै, हिमाल देखि तराइ सम्मको भूमि जोडिएको गोरखा जिल्लामा जडीबुटीको पनि प्रचुर सम्भावना रहेकाले त्यससँग सम्बन्धित उद्योग स्थापनामा जोड दिनुपर्ने बताए ।
उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले अहिले धेरै व्यवसायीहरु पलायन भइरहँदा यहीँ बसेर व्यवसायी गर्नेहरु माथि चुनौती थपिदै गएको बताए । राज्यले नीजि क्षेत्रप्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउँदै उनले व्यवसायीहरुको हकअधिकारका लागि निजी क्षेत्र सबै एकजुट हुनुपर्ने बताए । साथै सबै व्यापार व्यवसायलाई सम्मान गर्नुपर्ने बताउदै सबै उत्पादन र उद्यमशीलतामा जोड दिएका थिए ।
गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकरले जिल्ला भित्रका व्यवसायीहरु एकजुट हुन नसक्दा अर्थतन्त्रले फड्को मार्न नसकेको बताइन् ।
कार्यक्रममा संघको कार्यप्रगतिको प्रतिवेदन महासचिव प्रकाशचन्द्र श्रेष्ठले र संघको आर्थिक प्रगति प्रतिवेदन संघका सचिव चन्दनबाबु खत्रीले प्रस्तुत गरेका थिए ।
संघको बन्दसत्रबाट जिल्लाको आर्थिक मन्दीलाई न्यूनीकरण गर्नका लागि पर्यटन, कृषि, उद्योग र व्यापार विषयमा स्थानीय तह, प्रदेश, संघ सरकारसँग समन्वय गरी अघि बढ्ने निर्णय भएको संघ गोरखाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले बताए । कार्यक्रममा उनले जिल्लाको विकासका लागि पर्यटन उद्योगमा जोड दिनुपर्ने बताए ।
उनले मनास्लु पदमार्ग जाने पर्यटकर्ला गोरखा जिल्ला प्रशासनमा प्रवेश भएर जाने परानै व्यवस्था कामय गर्नुपर्ने र त्यसलाई लागि प्रधानमन्त्रीलाई पनि ज्ञापनपत्र बुझाएको बताए । त्यस्तै, राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजनाको काम छिट्ट सुरुवात गर्नुपर्ने, गोरखकाली रबर उद्योग पुण्न संचालन गरिनिुपर्ने, प्रत्येक पालिकामा औद्योगित ग्राम निर्माण कार्य तिव्र गतिमा हुनुपर्ने र घरघरमा रोजगारीको सिर्जना हुने गरी उत्पादनमुलक उद्योगहरु स्थापनामा जोड दिनुपर्ने बताए । राज्यले पनि व्यवसायहरु संचालनमा ल्याउने औद्योगिक निती निर्माण गर्न लाग्नुपर्ने उनले बताए ।
संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षता तथा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका महासंघ उपाध्यक्ष हेमराज ढकाल, महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भटचन, महासंघका केन्द्रीय सदस्य जीवनज्योति श्रेष्ठ, गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकर, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, उवासंघका संस्थापक सचिव धिरजबहादुर मास्के, गोरखा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष रामस्वरुप श्रेष्ठ, नेपाली काँग्रेस गोरखाका सचिव किशोरजंग थापा, नेकपा एमालेका सचिव काजिराम रोका, पत्रकार महासंग गोरखाका उपाध्यक्ष नरेन्द्र ढकाल लगायतले मन्तव्य राखेका थिए ।




