
लाप्राकमा तमु ल्होसारको अवसरमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता
धार्चे गाउँपालिका वडा नं ४ लाप्राकमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । तमु ल्होसार मूल आयोजक समितिद्वारा तमु ल्होसारको अवसरमा जिल्लास्तरीय भलिबल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।
आगामि पुस १५ गतेदेखि १८ गतेसम्म हुने जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने समितिले जनाएको छ । प्रतियोगितमा दोस्रो र तेस्रो हुने टिमले क्रमश ३५ हजार, २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
भलिबल प्रतियोगितामा सहभागी हुनका लागि आगामी पुस १५ गते बेलुका सम्म टिम दर्ता गरिसक्नुपर्ने आयोजक समितिले जनाएकोछ ।
सो कार्यक्रमको अवसरमा छेलो फाल्ने प्रतियोगिता प्रथम हुने र बाँस चढाई प्रतियोगितामा प्रथम हुनेले एकेक वटा लोकल भाले प्राप्त गर्ने मूल आयोजक समितिले जनाएको छ ।
त्यस्तै, नृत्य प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश ३, २ र १ हजार सहित मेडल र प्रमाणपत्र वितरण गरिने जनाएकोछ । गुरुङ भाषा, संस्कार हाम्रो पहिचान, यसको संरक्षण गर्ने हाम्रो अभियान भन्ने नाराका साथ हुन लागेको उक्त मेलामा स्थानीय घाँटु नाँच, लामा डान्स, झाँकी डान्स समेत प्रस्तुती रहने जनाएको तमु ल्होसार मूल आयोजक समितिले जनाएको छ ।




