| बुधबार, कार्तिक २५, २०८३

लाप्राकका अव्यवस्थित बसोबासी ४० घरधनीलाई निस्सा वितरण

गोरखाको धार्चे गाउँपालिका वडा नं ४ लाप्राकका अब्यवस्थित बसोबास गरेका ४० घरधनीलाई निस्सा(जग्गा प्राप्त गर्ने प्रमाणपत्र) वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले मंगलबार एक कार्यक्रमका गरी उनीहरुलाई निस्सा वितरण गरेका हुन् ।

राष्ट्रिय भूमि आयोगले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास गरेकाहरुको लगत संकलन गर्ने कार्य गर्दै आएको छ । सोहीअन्तरगत लाप्राकमा भने भूमिहिन दलित र भूमिहिन सुकुम्बासी नरहेको र अव्यबस्थित बसोबास गर्नेहरु मात्र रहेको प्रशासन तथा योजना शाखाका अधिकृत तथा पालिकाको भूमि आयोगको फोकल पर्सन रुल बहादुर आलेले बताए ।

अब्यवस्थित बसोबास गरेका स्थानीयहरुले फर्म भरेको र त्यसलाई वडाले पालिकामा सिफारिस गरी पठाएको थियो । त्यस्तै, कार्यापालिका बैठकले निर्णय गरी जिल्ला भूमि आयोग गोरखामा पठाएको थियो । भूमि आयोगले दाबी विरोधका लागि सात दिने सूचना निकालेको र कसैको पनि दाबी विरोध नआएपछि पालिकाले पहिलो चरणमा निस्सा वितरण कार्यलाई अगाडि बढाएको उनले जानकारी दिए ।

उनीहरुलाई अब कार्यपालिकाले निर्णय गरेर मालपोत कार्यालय, नापी कार्यालयबाट प्राविधिकहरु फिल्डमा जग्गाको नापजाँच गरी छिट्टै जग्गा वितरण गर्ने कार्य अघि बढ्ने उनले बताए । उनका अनुसार १० वर्ष भन्दा बढि जग्गा भोगचलन गर्दै आएको जग्गाको अहिलेसम्म नाप, नक्सा नभएका जग्गाहरु उनीहरुलाई बितरण गरिनेछ ।

यस्तै यसअघि गाउँपालिका वडा नं १ हुल्चुकमा भूमिहीन दलित र सुकुम्बासी गरी १३ जनालाई निस्सा वितरण गरिएको थियो । अव पालिकाकाभित्रका सबै वडामा पुस महिनाभित्र निस्सा वितरण गर्ने तयारीमा रहेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्