
जाडो छल्न सहर झर्दै उपल्लो गोरखाका बासिन्दा
जाडो बढ्न थालेपछि उपल्लो गोरखाका बासिन्दा सहरतिर झर्न थालेका छन् । विशेषगरी चुमनुब्री गाउँपालिका १, २, ४ र ७ का बासिन्दा सहरतिर झर्न थालेका हुन् ।
करिब दुई महिना बस्नेगरी गाउँलेहरु सहर झरेका चुमनुब्री १ सामागाउँका मिङ्मार लामाले जानकारी दिए । जाडोका कारण पर्यटक आवागमन कम भएकाले होटलवालाहरु अधिकांश सहर झरेको उनको भनाइ छ । ‘अब काठमाडौँमा पढ्ने बच्चाहरुलाई पनि जाडो बिदा हुन्छ । बच्चाहरुसित घुम्ने, घुमाउने एकदुई महिना बिताएर गाउँ फर्कने हो’, उनले भने, ‘कोहीकोही वोधगया, लुम्बिनी पनि जान्छन् । कोही वाङ थाप्न धर्मशालासम्म पनि पुग्छन् ।’
याकचौँरी हेर्न एकाधबाहेक प्राय सहर झरेका चुमनुब्री ७ छेकम्पारका छिरिङ लामाको भनाइ छ । ‘बुढाबूढी हिँड्न सक्नेहरु पैदल हिँडेर झरिसके, हिड्न नसक्नेहरु हेलिकोप्टरबाट झरिसके । अहिलेसम्म ४० प्रतिशत मान्छेहरु झरिसकेका छन्’, उनले भने, ‘अहिले त अलिअलि भनेपनि टुरिस्ट आउँदैछन् र फाट्टफुट्ट होटलहरु चलिरहेका छन् । अझै झर्ने क्रम जारी नै छ ।’ अन्यत्रभन्दा छेकम्पारबाट सहर झर्ने क्रम केही कम रहेको उनको भनाइ छ ।
जाडो छल्नका लागि वडा नं. १, २ र ७ का बासिन्दा अधिकांश सहरतिर झर्छन् । वडा नं ४ का विभिन्न गाउँबस्तीबाट पनि अधिकांशजसो सहरतिर झर्ने वडाअध्यक्ष पेमाग्याल्बो लामाको भनाइ छ । वडा नं. ५ र ६ बाट भने आंशिक मात्र सहर झर्ने उनको भनाइ छ । ‘आफ्नो घर, याक, चौँरी पनि आफन्त र छिमेकीको जिम्मामा छोडेर झर्ने चलन छ’, उनले भने, ‘अब अहिले गएपछि ग्याल्बो ल्होसार मानेर मात्र घर फर्कन्छन् ।’
यतिबेला गाउँलेहरु प्रायजसो वौद्ध र स्वयंभूतिर भेटिने वडा नं. २ का छेवाङ ग्याल्जेनको भनाइ छ । ‘जाडो छल्न झर्नेहरु कसैको काठमाडौँमा आफ्नै घर छ । कोही यतिबेला आफन्तको घरमा बस्छन् भने कोही अरुको घरमा डेरा लिएर बस्छन्’, उनी भन्छन्, ‘जंगली जनावरले खाइदिने भएर गाउँलेहरुले खेती गर्न छाडिसके । वैदेशिक रोजगारीमा जानेले पठाएको रेमिट्यान्सले चलिरहेको छ । गाउँमा पनि त्यही खाएर बस्ने, सहरमा पनि त्यही खाएर बस्ने भएपछि सहरमै बस्न सजिलो हुने भएकाले गाउँलेहरु यतै बस्न रुचाउँछन् ।’
चुमनुब्री गाउँपालिका गोरखाको हिमाल पारि पर्दछ । हिमाली भेग भएकाले जाडो छल्न झरेका उनीहरु चैत लागेपछि मात्र गाउँ फर्कने स्थानीयबासीको भनाइ छ ।




