
प्रधानमन्त्री प्रचण्डले चुनावी एजेण्डा बनाएको पालुङटार एयरपोर्ट संचालनमा वेवास्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा रहेको पालुङटार एयरपोर्ट संचालनमा नआएको करिव ४४ बर्ष भयो । प्रचण्डले चुनावी एजेण्डा समेत बनाएको उक्त एयरपोर्ट अहिले गौचरन क्षेत्रमा सिमित छ ।
२०१७ सालबाट उडान शुरु गरेको उक्त एयरपोर्टले २०३६ साल यता कुनै पनि उडान भरेको छैन । सो क्षेत्रबाट चुनाव लडेका प्रचण्डले निर्वाचन अघि एयरपोर्ट संचालनका लागी पहल गर्ने आश्वासन दिएका थिए । चुनाव जितेर उनी प्रधानमन्त्री समेत बने, तर एयरपोर्ट संचालनका लागी कुनै पहल गरेका छ्रैनन् ।
पुनः संचालनका लागी भन्दै नागरिक उड्डयन प्राधिकरणले करिव तिन बर्ष अघि एयरपोर्ट स्तरोन्नतीको काम समेत शुरु गरेको थियो । तीन करोड १७ लाख खर्चेर रन–वे मा ग्राभेल गरी कम्प्याक्ट गर्ने र वरपर तारवार लगाउने काम शुरु भएपनि जग्गा स्वामित्वको बिषयमा स्थानीयसँगको बिवादले काम रोकिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।
‘बिवाद भएपछि हामीले फिल्ड भिजिट ग¥यौ,’ उनले भने, ‘रन–वे को बिचमा सडक बनेको र एयरपोर्टको जग्गामा स्थानीयले घर बनाएको देखियो ।’ एयरपोर्टको आधा जग्गा अतिक्रमण भएको भन्दै उनले रन–वे ‘क्लिअर’ गरेर जग्गाको स्वामित्वबारे निर्णय नभएसम्म काम अघि बढाउन नसकिने बताए ।
नियमित फ्लाईट नभएपनि अल्ट्रालाइट, प्याराग्लाइडिङ, स्काई डाइभिङको जोन बनाउन सक्ने उदेश्य सहित स्तरोन्नतीको काम थालेपनि विवादले गर्दा काम रोकिएको उनले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका जनप्रतिनिधी, नापी र मालपोत कार्यालय लगायतका सरोकारवाला बसेर विवाद मिलाउने भनेपनि प्रगति हुन नसकेको उनको भनाइ छ । एयरपोर्ट संचालनका लागी आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनले बताए ।
‘अरु समस्या केही छैन, एउटा घर र धन्सार एयरपोर्टको जग्गामा पर्छ भन्ने कुरा आएको छ,’ उनले भने, ‘जग्गा स्वामित्व विवाद मिलाउन हामी आवश्यक सहजिकरण गर्न तयार छौ ।’
करिव १ सय ८५ रोपनी क्षेत्रफलमा फैलिएको उक्त एयरपोर्टबाट दैनिक काठमाण्डौ, पोखरा र भरतपुर उडान हुने गथ्र्याे । नारायण–मुग्लिन सडकखण्ड बनेपछि जहाज चढ्नेको संख्या घट्न थालेको सो क्षेत्रका जानकारहरु बताउँछन् । यात्रु नभएकै कारण २०३६ सालबाट बन्द भएको उडान हालसम्म शुरु हुन सकेको छैन । एयरपोर्ट संचालन गर्न स्थानीयले पटक पटक माग गर्दै आएका छन् ।




