| बुधबार, कार्तिक २५, २०८३

गोरखा, धादिङ र चितवनको सीमावर्ती नाकामा चेकजाँचमा कडाई गरिने

गोरखा, धादिङ र चितवन जिल्लाका सीमावर्ती नाकाहरुमा सुरक्षा चेकजाँचमा कडाई गरिने भएको छ । शनिवार चितवनको कुरिन्टारमा भएको अन्तर जिल्ला समन्वय बैठकले सीमा क्षेत्रमा हुने गैरकानूनी तथा आपराधिक गतिविधिहरुलाई नियन्त्रण गर्नका लागी चेकजाँचमा कडाई गर्ने निर्णय गरेको हो ।

आपराधिक गतिविधि हुन सक्ने सम्भावित स्थान तथा गतिविधिमा संलग्न हुने व्यक्तिहरुको पहिचान गरी सूचना आदान प्रदान तथा निगरानी गर्ने र आवश्यकता अनुसार संयुक्त रुपमा टोली खटाई कारवाही गर्ने निर्णय समेत भएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।

‘लागुऔषध, अवैध हातहतियार एवं विष्फोटक पदार्थ, पुरातात्विक वस्तु, बहुमूल्य जडिवुटी, बनपैदावार, निषेधित एवं संरक्षित वन्यजन्तु तथा आखेटोपहार लगायतका अवैध वस्तु वा पदार्थहरुको ओसार पसार तथा आपराधिक क्रियाकलापहरु लगायतका गैरकानूनी कार्यहरु हुन वा गर्न नदिन सीमावर्ती नाकाहरुमा सुरक्षा चेकजाँचलाई थप प्रभावकारी बनाउने निर्णय गरेका हौ,’ उनले भने ।

एउटा जिल्लामा आपराधिक घटना घटाई अर्को जिल्लामा लुकिछिपि आश्रय लिएर बस्ने व्यक्ति तथा फरार प्रतिवादीहरुको सूक्ष्म निगरानी गरी खोजी कार्यलाई तिव्रता दिने र प्राप्त सूचना अन्तर जिल्ला आदानप्रदान गर्ने समेत निर्णय भएको उनले जानकारी दिए । तीनवटै जिल्लाका सीमा क्षेत्रमा निर्माणाधिन बिकास आयोजनाहरु समयमै सम्पन्न गर्न आवश्यक समन्वय र सहजिरकण गर्ने बैठकको निर्णय छ । विपदको समयमा पनि उद्धारका लागी आवश्यक समन्वय र सहकार्य गर्न उनीहरुले एक्यवद्धता जनाएका छन् ।

‘त्रिशुली लगायतका नदीमा ¥याफ्टिङ गराउने व्यवसायीहरुले व्यवसाय दर्ता सँगै दुर्घटनामा उद्धार गर्ने व्यवस्था गरे÷नगरेको सम्बन्धमा तीनवटै जिल्लाका सुरक्षा निकायहरुले अनुगमन गरी उल्लेखित कार्य नगरेको पाइएमा कारवाहिका लागि सम्बन्धित निकायमा पठाउने निर्णय समेत गरेका छौ,’ गोरखा प्रजिअ भुसालले भने । उनका अनुसार छिमेकी जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्ने सवारी साधनहरुको चेकजाँचमा कडाइ गरिने भएको छ ।

धर्म प्रचार लगायतका बिभिन्न गैरकानूनी कार्यमा संलग्न बिदेशी नागरिकको निगरानी समेत बढाइने भएको छ । त्यस्ता कार्य गर्नेहरुको सूचना एक आपसमा आदान प्रदान गर्ने र कानूनी कारवाही प्रक्रिया अघि बढाइने बताइएको छ । धार्मिक, जातीय, साम्प्रदायिक एवं संविधान विरोधि गतिविधि बढिरहेको भन्दै त्यसको नियन्त्रणका लागी पनि आपसी समन्वय गर्ने बैठकमा निर्णय भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतामा भएको बैठकमा चितवनसहित गोरखा र धादिङ जिल्लाका प्रजिअ एवं सुरक्षा निकायका प्रमुखहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्