| बुधबार, कार्तिक २५, २०८३

गोरखा एप्रोप्रिएट, कन्काई जेभीले जिम्मा लिएको आरुघाटको अजुवा खोला पुल पनि अलपत्र

जिम्मा लिने तर योजना अलपत्र पार्ने गोरखा एप्रोप्रिएट, कन्काई जेभीले आरुघाट गाउँपालिका अन्तर्गत अजुवा खोला पुल पनि अलपत्र पारेको छ । आरुघाट गाउँपालिका वडा नम्वर ३ र ४ जोड्ने उक्त मोटरेवल पुलको काम ६ बर्षमा पनि सम्पन्न हुन नसकेको हो ।

पुल निर्माणका लागि सो जेभी निर्माण कम्पनीले २०७४ साल साउन २१ गते गोरखा सडक बिभाग योजना कार्यालयसंग सम्झौता गरेको थियो । कार्यालयका अनुसार २०७५ माघ महिनामा काम सक्नुपर्ने थियो ।

समयमै काम सम्पन्न नभएर चार पटक म्याद थप भइसक्दा समेत काम सम्पन्न हुन सकेको छैन । अन्तिम पटक थप भएको म्याद अनुसार २०८० असार २५ गते काम सक्नुपर्ने थियो । अन्तिम पटक म्यादथप गरेको पनि पाँच महिना बितिसक्दा हालसम्म ८३ प्रतिशत मात्र भौतिक प्रगति रहेको कार्यालय प्रमुख अमिन्द्र खड्काले बताए ।

‘डेक स्ल्याबसम्म निर्माण सम्पन्न भइसक्यो,’ उनले भने, ‘फुटपाथ, रेलिङ, क्विङ्ग वाल र एप्रोच रोड बनाउने काम बाँकी छ,’ उनले भने । कुल तीन करोड ९९ लाखको उक्त योजना ठेकेदारको लापरवाहीका कारण समस्याग्रस्त बनेको कार्यालयले जनाएको छ । निर्माण व्यवसायीले भने कोरोन,चुनाव, नदीजन्य पदार्थ सामग्री अभावका कारण काममा ढिलाइ भएको बहाना बनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्