| बुधबार, कार्तिक २५, २०८३

गोरखामा एचआईभी संक्रमित १० आमाबाट जन्मेका बच्चा सुरक्षित

गोरखामा एचआइभी संक्रमित १० जना आमाबाट जन्मिएको बालबालिका सुरक्षित रहेको पाइएको छ । गोरखा अस्पतालले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा स्टाफनर्स तथा एआरटी क्लिनिककी काउन्सलर सिर्जना खत्रीले संक्रमित १० जना आमाहरुबाट एचआईभीमुक्त बच्चा जन्मिएको जानकारी दिइन् ।

‘संक्रमित १० जना आमाहरुबाट जन्मेका बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा उनीहरुमा एचआइभी नदेखिएको पाइयो’, उनले भनिन्, ‘अन्य जिल्लाको तुलनामा गोरखाको यो अवस्था धेरै राम्रो हो ।’ यस सन्दर्भ अरु जिल्लाहरुका लागि पनि प्रसंसनीय रहेको उनको भनाइ छ । ‘विभिन्न अन्तरक्रियाहरुमा गोरखाको यो उदाहरण सुनाउँदा सबैले प्रसंसा गर्छन्’, उनले भनिन् । उनका अनुसार आमाबाबुसँगै बच्चामा पनि संक्रमण देखिएमा सबै जनाले बाचुञ्जेलसम्म नियमित रुपमा औषधी आइरहनुपर्ने हुन्छ । तर संक्रमण नदेखिएकाको हकमा यो नियम लागु नहुने उनको भनाइ छ ।

२०६७ साल देखि हालसम्म गोरखामा ३२१ जना एचआइभी संक्रमित देखिएको गोरखा अस्पतालकी स्टाफनर्स तथा एआरटी क्लिनिकका काउन्सलर सिर्जना खत्रीले बताइन् । जसमध्ये हाल एकसय २२ पुरुष र एक सय ५ जना महिला गरी २ सय २७ जनाले नियमित रुपमा एआरटी औषधी सेवन गर्दै आइरहेका छन् । उनीहरुमध्ये दुई जना १८ वर्ष भन्दा कमका बालबालिका रहेका छन् ।

गोरखा अस्पतालको एआरटी क्लिनिकबाट विभिन्न समयमा सेवा लिइरहेको एचआइभी संक्रमित व्यक्तिहरुका लागि एएफएच नेपाल नामक संस्थाले पनि थप सहयोग गर्ने भएको छ । शुक्रबार गोरखा अस्पतालमा सो संस्थाले पनि एचआइभीका सेवाग्राहीलाई थप सहयोग गर्ने बताएका हुन् ।

संस्थाले हाल गोरखा अस्पतालमा एक जना कर्मचारी उपलब्ध गराएको जनाएको छ । बिरामीलाई नियमित रुपमा हस्पिटलसम्म आई सेवा लिन प्रोत्साहन गर्नका लागि थप सेवाहरु थप्दै जाने संस्थाका रिजनल म्यानेजर दिपक ढुङ्गेलले बताए । यो औषधी जीवनभरि खाइरहनु पर्ने भएकाले उनीहरुलाई औषधी खानबाट बन्चित नहोस भन्नका लागि संस्था थप सहयोग गर्ने उनले प्रतिबद्धता जनाएका थिए । सरकारले संचालन गरिरहेको कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन संस्थाले सहयोग गरेको उनको भनाइ छ ।

गोरखाको दुर्गम पालिका चुमनुब्री, धार्चे, बारपाक सुलिकोट लगायतका टाढाबाट आउनुपर्दा उनीहरुलाई आउजाउमा धेरै खर्च हुने गरेको उनले बताइन् । पानपा, धार्चे लगायतका पालिकाहरुले उनीहरुको आउजाउको यातायात खर्च भनेर केहि बजेट छुटाएको पनि उनले बताइन् ।

त्यस्तै गोरखाका एचआइभी संक्रमितहरु मध्य ३६ जना अन्य जिल्लामा स्थानान्तरण भएर गएको र ५१ जनाको भने मृत्यु भइरहेको उनले जानकारी दिइन् । संस्थाले एक जना स्टाफ राखेसँगै काउन्सललाई धेरै सहयोग पुग्ने उनले बताइन् । विरामीलाई केहि रकम दिने प्रतिबद्धता आएको उनले बताइन् ।

एएफएच नेपाल नामक संस्थाले विश्वमा एचआइभी संक्रमण भएका व्यक्तिको उपचार, उद्धारसँगै यस सम्बन्धी विभिन्न स्थानमा सचेतनामुलक कार्यक्रमरु पनि संचालन आएको जनाएको छ । संस्था गोरखा सहित नेपाल भरमा १७ वटा जिल्लामा रहेको अस्पतालसँग सम्झौता गरी कार्यक्रम कार्यान्वय भइरहेको संस्थाका डाक्टर अन्नत श्रेष्ठले बताए । नेपालमा सन २०३० सम्ममा एचआइभी एड्सलाई न्यूनीकरण गर्ने सरकारको लक्ष्य रहेको उनले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्