
बारपाकसुलिकोटको पोखरीगैरामा बीउ आलु उत्पादन सुरु
बारपाक सुलिकोट गाउँपालिका ६ साविक ताकुकोट गाविसस्थित पोखरीगैरामा व्यवसायिक रुपमा आलुको बीउ उत्पादनका लागि बीउ आलु उत्पादन कार्यक्रम सुरु भएको छ । यो वर्षबाट कृषकहरुकै मागको आधारमा आलु बीउ उत्पादन कार्यक्रम सुरु गरेको पालिकाले जनाएको छ ।
गाउँपालिका र ताकुकोट कृषिसहकारीको लागत साझेदारीमा बीउआलु उत्पादन कार्यक्रम सुरु भएको गाउँपालिका कृषि शाखा प्रमुख विनोद विश्वकर्माले बताए । सो क्षेत्रलाई व्यवसायिक रुपमा बीउआलु उत्पादन क्षेत्रको रुपमा विकास गर्नका लागि गाउँपालिका र सहकारीको तीन, तीनलाख गरी ६ लाखको लागत साझेदारीमा पहिलो पटक कार्यक्रम सुरु भएको उनले बताए । हाल सहकारीको साढे पाँच रोपनी क्षेत्रफलमा जनकदेव र एमएस बयालिस गरी दुई जातका नौ÷नौ हजारको १८ हजार आलुको दाना रोपिएको उनले बताए ।

यो आलुखेती तरकारी खानका लागि नभई बिउ निर्माणका लागि वितरण गरिएको उनको भनाइ छ । ‘यो खानका लागि नभई बीउ निर्माणका लागि मात्र गरिएको पालिकाको यो नयाँ कार्यक्रम हो,’ उनले भने, ‘पहिला खाने आलुका लागि बीउ दिइन्थ्यो, अहिले खाने आलु भन्दा पनि बीउमा आत्मानिर्भर बनाउनका लागि आलुको बीउ वितरण गरेका हौँ ।’ पहिलो वर्ष उत्पादन गरेको आलुको दाना सानो हुने भएकाले खानाका लागि सस्तो तर बीउ भने महङ्गो पर्न जाने उनले बताए ।
उक्त बीउआलु पाँच पुस्तापछि मात्र खान योग्य हुने उनले बताए । ‘यो आलुबाट कम्तीमा पाँचवर्षसम्म बीउ नै उत्पादन हुन्छ, यो प्रयोगशालाबाट उत्पादन गरेको बीउ हो,’ उनले भने, ‘चारदेखि पाँच पुस्तासम्म बीउ उत्पादन गर्न सकिन्छ । त्यसपछि खानका लागि योग्य हुन्छ ।’ पहिलो वर्ष दाना सानो हुने बताउँदै प्रत्येकवर्ष आलुको दानाको साइज बढ्दै जाने र ४÷५ वर्षपछि खानयोग्य हुने उनले जानकारी दिए ।
पहिलो वर्ष १५ सय केजी भन्दा बढी आलुको बीउ उत्पादन गर्ने लक्ष्य रहेको पनि उनले जानकारी दिए । सोमबार बिउ आलु उत्पादन तालिममा सुरु देखि नै आलुको बिउ कसरी लगाउने, पछि हेरचाह कसरी गर्ने, त्यसमा रोगकिरा लागेमा कसरी संरक्षण गर्ने लगायतका बारेमा जानकारी गराएको कृषिशाखा प्रमुख विश्वकर्माले जानकारी दिए ।
सोही क्षेत्रबाट उत्पादन भएको आलुको बीउ अन्य वडा र पालिकाहरुमा बीउका निम्ति निर्यात गर्ने पालिकाको योजना रहेको उनले बताए ।




