
गोरखामा पुस १ गतेबाट ट्राफिक जरिवाना रकम वैंकिङ प्रणालीबाट जम्मा हुने
गोरखामा अव ट्राफिक जरिवाना बैँकिङ प्रणालीमार्फत जम्मा हुने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक सूचना जारी गरी आउँदो पुस १ गतेदेखि राष्ट्रिय वाणिज्य वैकका विभिन्न शाखाहरुमार्फत जरिवाना रकम जम्मा हुने व्यवस्था मिलाएको जनाएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालयको निर्देशन अनुसार सो निर्णय भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कार्यालय प्रमुख प्रहरी बरिष्ठ नायव निरीक्षक शिव प्रसाद पाठकले जानकारी दिए ।
सवारी नियम उल्लंघन गर्ने प्रवृतिलाई निरुत्साहित गर्ने र आर्थिक पारदर्शिता कायम गर्ने उद्देश्यले ट्राफिक कारवाहीमार्फत तिर्ने जरिवाना राजश्वलाई वैंकिङ प्रणालीमार्फत गर्ने निर्णय भएको उनले बताए ।
अब जिल्लाभित्र सवारी नियम उल्लङ्घन गर्ने सवारी धनी र चालकले सवारी नियम उल्लङ्घन गरेमा तत्काल ट्राफिक प्रहरीले २४ घण्टे पुर्जी जारी गर्ने छ । उक्त सवारी धनी र चालकले कागज पत्र फिर्ता लिनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखा र सम्बन्धित ट्राफिक पोष्टहरुमा जानु पर्ने छ ।
ट्राफिक प्रहरी कार्यालयले ट्राफिक कारवाहीमा परेको सवारी दर्ता किताव, सडक ईजाजत पत्र र सवारी चालक अनुमति पत्र ट्राफिक उल्लङ्घन रेकर्डिङमा दर्ता गरी सकेपछि मात्र राष्ट्रिय वाणिज्य वैंक, इसेवा, खल्ती, कनेक्ट आइपिएस मार्फत जरिवाना तिर्न सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय कार्यालय गोरखाले जनाएको छ ।




