
सुख्खा पहिरोले देवलको चारघर पहिरियो, २३ घरधुरी उच्च जोखिममा
चुमनुब्री गाउँपालिका ३ को देवल गाउँ पहिरोको उच्च जोखिममा छ । दिनहूँ गइरहने सुख्खा पहिरोले एक महिनाको अवधिमा चार घर लगिसकेको छ । २३ घर बस्न नमिल्ने गरी चर्किएको र ६५ घर उच्च जोखिममा रहेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।
‘एकसाताअघि म, उपाध्यक्ष, वडाअध्यक्ष, प्रशासकीय अधिकृतलगायतको टिम स्थलगत अध्ययनमा गयौँ’, गाउँपालिकाका अध्यक्ष लामाले भने, ‘देवलको ६५ घरधुरीमध्य हालसालैको सुख्खा पहिरोले चार घर भत्किसकेको रहेछ । बाँकी २३ घर पनि बस्न नमिल्ने गरी चर्किएको छ । पहिरो गाउँ नजिकै पुगिसकेको छ । जताततै जमिन धाजा फाटेको छ । ६५, ७० घर नै जोखिममा छन् ।’
विस्थापित २३ घरधुरीलाई त्रिपाल वितरण गरेर फर्केको उनले बताए । ‘प्रत्येक घरलाई दुई–दुई थान त्रिपाल दियौँ र यथासीघ्र सुरक्षित ठाउँमा सर्न अनुरोध गरेका छौँ’, अध्यक्ष लामाले भने, ‘अब हामी बस्ती स्थानान्तरणका लागि पहल गर्नेछौँ ।’ पहिरोले जोखिम बनाएर राखेको घरहरु जाजरकोट भूकम्पको धक्काले भत्किएको उनले बताए ।
सुख्खा पहिरोले आक्रान्त भएपछि गाउँलेहरुले जनप्रतिनिधिहरुलाई गाउँमा बोलाएका थिए । ‘दशैँअघि आफ्नै कामले म एकफेर त्यहाँ पुगेको थिएँ । अहिले गाउँलेले जनप्रतिनिधि आइदिनु प¥यो भनेर बोलाएर हैरान पारे’, गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले भनिन्, ‘पहिलेदेखि नै पहिरोले दुख दिइरहेको ठाउँ हो, त्यसैले बोलाएका होलान् । बर्खामा पो पहिराले दुख दिन्छ, हिउँदमा के दिन्छ भनेर सामान्य हिसाबले सोची बसेको थिएँ, तर बोलाएर हैरान पारेपछि हामी टिम नै हेर्न गयौँ । त्यहाँको अबस्था त एकदम दुख लाग्दो, बिजोग रहेछ । तीन, चार वटा घर सबै भत्किसकेको रहेछ । गाउँको जताततै चिरा–चिरा परेर पहिरो जानलाई ठिक्क परेर बसेको रहेछ । समय छँदै सुरक्षित ठाउँ खोजेर सर्न भनेर आएका छौँ ।’
जाडोका बेला त्रिपालभित्र बस्न ती गाउँका बासिन्दालाई कठिन हुने उनले बताइन् । त्यस ठाउँमा बिगत २० बर्षदेखि नै पहिरो जान थालेको हो । यसअघि नै तीनवटा टोल पहिरोले लगिसकेको अर्का स्थानीय गणेश कार्कीले बताए ।
‘लोक्पा, नुसिला, व्लासिगाउँ र त्यहाँको एउटा विद्यालय त त्यो पहिरोले पहिल्यै लागिसकेको हो । त्यहाँबाट सुरक्षित ठाउँ खोज्दै देवल गएर बसेका थिए । त्यहाँ पनि पहिरो पुग्यो’, कार्कीले भने, ‘पहिरो धेरै ठूलो भएकाले नियन्त्रण गर्न कठिन छ । अब त्यहाँका बासिन्दालाई सुरक्षित ठाउँमा सार्नुको बिकल्प छैन ।’ गोरखा भुकम्प यता पटक(पटकको पहिरोले दर्जनौँ घरधुरी बिस्थापित भइसकेको वडाअध्यक्ष रामकुमार गुरुङले जानकारी दिए । पहिरो नरोकिएपछि अहिले गाउँ नै बग्ने खतरा रहेको वडाअध्यक्ष रामकुमार गुरुङले जानकारी दिए ।
२० वर्षअघि त्यहाँ रहेको सबै घर पहिरोले लगेपछि बिस्थापित १३ घरधुरी अहिलेसम्म पक्की घरमा पुनस्थापना हुन नसकिरहेका बेला सोही पहिरो अर्कोबस्तीसम्म पुगेको उनले बताए ।
‘अहिले सरेको गाउँ पनि पुरै बग्ने खतरामा छ’, वडा अध्यक्ष रामकुमार गुरुङले भने, ‘त्यहाँबाट बिस्थापित भएका र जोखिममा रहेकालाई सुरक्षित स्थलमा स्थानान्तरण नगरिहुदैन । त्यसका लागि गाउँपालिका, प्रदेश सरकारको मात्र प्रयासले सम्भव हुदैन । केन्द्री सरकारले नै सहयोग गर्नुपर्छ ।’
पहिरोबाट बस्ती जोगाउन केही वर्षअघि गाउँपालिकाले ३० लाख रुपैयाँ खर्चेर जाली भरेको थियो । जाली पनि पहिरोले लगेको गुरुङले बताए ।




