
गोरखामा बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा घर भइ हाल गोरखा नगरपालिका–६ बस्ने ४७ बर्षीया पम्फादेवी बराइली रहेकी छन् । ‘बराइलीले चितवनकी बिन्दुकुमारी सुनारसँग ११ लाख ४० हजार रकम सापटी लिएकी रहिछन्,’ प्रहरी निरक्षक रविन्द्र अधिकारीले भने, ‘रकम फिर्ता मागेपछि आफ्नो खाता रहेको एनएमबि बैक गोरखा शाखाको चेक काटेर दिइछन्, तर त्यो चेक सटही गर्न जाँदा खातामा पर्याप्त रकम नभएको भनी चेक अनादर भई फिर्ता आएछ अनि सुनारले बराइली बिरुद्ध जाहेरी दिएकी हुन् ।’
त्यसयता फरार रहेकी बराईलीलाई सोमवार गोरखा नगरपालिका वडा नम्वर ६ बाट पक्राउ गरिएको अधिकारीले जानकारी दिए । उनी बिरुद्ध बैंकिङ कसूर मुद्दा दर्ता भएको र सोमवार जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




