
ठेकेदार काम नगर्ने, कार्यालय म्याद मात्र थपिरहने
जिल्लाको समस्याग्रस्त योजनामध्ये खत्रीटार–पौवाटार सोलार लिफ्ट सिंचाइ योजना पनि एक हो ।
जलस्रोत तथा सिंचाइ बिकास डिभिजन कार्यालय मार्फत कार्यान्वयन भएको उक्त योजना ठेकेदारको लापरवाहीका कारण समस्याग्रस्त बनेको छ । चार पटक म्याद थप भइसक्दा पनि योजना सम्पन्न हुन सकेको छैन । काममा ढिलासुस्ती गर्ने उक्त निर्माण कम्पनीलाई कारवाही गर्नुको सट्टा कार्यालयले पटक पटक म्याद थप गर्दै आएको छ ।
योजना निर्माणका लागी जि.यू.पी प्रालिसँग २०७७ जेठ १६ गते सम्झौता भएको थियो । सम्झौता अनुसार एक बर्षभित्र अर्थात २०७८ साल जेठ १५ गतेभित्र काम सक्नुपर्ने थियो ।
तर त्यसयता बिभिन्न मितिमा चार पटक म्याद थप भइसक्दा पनि योजना सम्पन्न हुन सकेको छैन । चौथो पटक थप भएको म्याद अनुसार अवको पुष महिनाभित्र काम सक्नुपर्ने हुन्छ । तर हालसम्मको कामको प्रगति हेर्दा सम्पन्न हुने सम्भावना देखिदैन । कार्यालयका प्रमुख मिलन पौडेलका अनुसार हालसम्म ८५ प्रतिशत मात्र भौतिक प्रगति रहेको छ । खत्रीटार र पौवाटार दुवैतर्फ एघार सय मिटर शाखा लाइन बिस्तार गर्न र ५० केभिए ट्रान्सफर्मर जोड्न बाँकी रहेको उनले जानकारी दिए । त्यस्तै टंकीमा घेरावार लगाउन समेत बाँकी रहेको उनको भनाइ छ ।
दुई करोड ८३ लाख ९७ हजार लागतको उक्त योजनाको हालसम्म खत्रीटार र पौवाटार दुवैतर्फसम्प वयल र एच. पी. पम्प सोलार जडान भएको कार्यालयले जनाएको छ । त्यस्तै टंकी निर्माण भएर कुलोदेखि टंकीसम्म पाइप लाइन जडान समेत भइसकेको कार्यालय प्रमुख पौडेलले बताए । तर चार पटक म्याद थप हुदाँ समेत योजना सम्पन्न नभएको भन्दै आलोचना हुन थालेको छ ।
यता निर्माण कम्पनीका बिश्व बिक्रम जोशीले उपभोक्ताले टंकी बनाउने जग्गा नदिदा समस्या भएको बताए । ‘धेरै समयसम्म जग्गा पाएनौ, पछि बल्ल उपभोक्ताले दिएपछि काम अघि बढ्यो,’ उनले भने । अवको केही दिनमा काम सम्पन्न हुने आश्वासन दिदै उनले थपे, ‘धारा बनिसकेको छ, त्यो लगेर डिस्ट्रिव्यूसन गर्ने काम मात्र बाँकी छ ।’




