| बुधबार, कार्तिक २५, २०८३

आश्रमका बालिकालाई बेचबिखन गर्न खोजेको आरोपमा एक महिला पक्राउ

मानव सेवा आश्रम गोरखाका दुई बालिकालाई बेचबिखन गर्न खोजेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा धार्चे गाउँपालिका वडा नम्वर ७ घर भई हाल गोरखा नगरपालिका वडा नम्वर ६ बस्ने २७ बर्षीया बिसमाया गुरुङ रहेको प्रहरीले जनाएको छ ।

१६ बर्षीया ती बालिकाहरुलाई काठमाण्डौ लगेर जागिर लगाइदिन्छु भन्दै फकाएर गुम्वामा लुकाएर राखेको खुलासा भएपछि उनलाई पक्राउ गरिएको प्रहरी निरिक्षक रविन्द्र अधिकारीले बताए । ‘आश्रम संचालकबाट पनि जायरी आयो अनि हामीले ती महिलालाई पक्राउ ग¥यौ,’ उनले भने ।

यही मंसिर २० गते बिद्यालय गएका ती दुई बालिकाहरु आश्रम नफर्केपछि खोजतलास गर्ने क्रममा गोरखा नगरपालिका–७ सतिपिपल स्थित निर्माणाधिन गुम्वामा लुकीछिपी बसेको अवस्थामा फेला परेका थिए ।

सोधपुछको क्रममा बिसमाया गुरुङले काठमाण्डौमा जागिर लगाइदिन्छु भन्दै फकाएर राखेको खुलासा भएपछि आइतवार ती महिलालाई पक्राउ गरिएको प्रहरी निरिक्षक अधिकारीले बताए । पक्राउ परेकी महिला बिरुद्ध मानव बेचबिखन तथा ओसारपसार उद्योग कसूर शिर्षकमा मद्दा दर्ता भइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्