
सर्भेसुलभ सहकारीद्वारा धार्चेका स्नातकोत्तर उतीर्ण चारजना सम्मानित
धार्चे गाउँपालिका–४ लाप्राकमा प्रधान कार्यालय रहेको सर्भेसुलभ बहुउद्देश्यीय सहकारी संस्थाले धार्चे स्थायी घर भई विभिन्न समयमा स्नातकोत्तर उर्तिण गरेका चार जनालाई सम्मान गरेको छ । धार्चे ६ काशीगाउँमा सम्पन्न भएको दोस्रो वार्षिक साधारण सभाको अवसरमा प्रतिनिधि सभाका सांसद राजेन्द्र बजगाईँले उनीहरुलाई सम्मान गरेका हुन् ।
धार्चे गाउँपालिका वडा नं ४ लाप्राकका धनबहादुर गुरुङ, वडा नं ५ गुम्दाका खगेन्द्र गुरुङ, लोक बहादुर गुरुङ र वडा नं ७ लापुकी संसारी गुरुङलाई सम्मानित गरिएको हो । स्नातकोत्तर उतीर्ण गरेका धार्चेका सबैलाई सम्मान गर्ने कार्यक्रम रहे पनि अरुहरु अनुपश्थित रहेकाले सम्मान गर्न नसकिएको बताइएको छ ।
त्यस्तै कार्यक्रममा सहकारी एप्स मार्फत उत्कृष्ट अनलाइन कारोबार गर्ने तर्फबाट काशीगाउँका पुषबहादुर गुरुङ र उत्कृष्ट कारोबार गर्नेको तर्फबाट कर्ण माइला गुरुङलाई सम्मान गरिएको छ । सहकारीले आगामी वर्षहरुमा १२ पास गरेका विद्यार्थीलाई सहकारी शिक्षा र मोबाइल बैकिङ सम्बन्धी अभियानका कार्यक्रमहरु संचालन गर्ने जनाएको छ । त्यस्तै, कनेक्ट आइपिसबाट आर्थिक कारोबार गर्दै आएका सहकारीका सदस्यहरुले अब सहकारीको एप्समा विदेशबाट डाइरेक्ट पैसा पठाउन मिल्ने समेत जनाएको छ ।

सो अवसरमा सहकारीका लेखा सुपरिवेक्षण समिति संयोजक मणिलाल गुरुङले लेखा प्रतिवेदन, कोषाध्यक्षले आर्थिक प्रतिवेदन र सहकारीका कार्यकारी अध्यक्ष सन्तोष गुरुङले सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहकारीले गत आर्थिक वर्ष ८ करोड ९० लाख कारोबार गरेको सहकारीका कार्यकारी अध्यक्ष सन्तोष गुरुङले बताए । लाप्राक, गुम्दा, माछीखोला र काशीगाँउमा सेवा केन्द्र रहेको उक्त सहकारीको सेयर पँुजी ७२ लाख ३० हजार रहेको बताइएको छ । सहकारीमा हाल सेयर सदस्य र साधारण सेयर सदस्य गरी ८ सय ३९ जना रहेका छन् ।

सहकारीका कार्यकारी अध्यक्ष गुरुङको अध्यक्षता तथा गोरखा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिशिर भट्ट, सहकारीका उपाध्यक्ष धन बहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए ।




