
गोरखामा एक बर्षभित्र ८ वन्यजन्तुको उद्धार, उद्धार भएकामध्ये तीन वटा मरे
एक बर्षको अवधिमा गोरखामा नौ वटा वन्यजन्तुको उद्दार भएको छ । गत आर्थिक बर्ष २०७९÷८० मा जिल्लाको बिभिन्न ठाउँबाट उनीहरुलाई उद्धार गरिएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।
चार वटा सालक, दुई वटा निर बिरालो र एक÷एक वटा चितुवा, हाडे गिद्द र रतुवा मृगको उद्धार भएको कार्यालय प्रमुख कोमलराज काफ्लेले बताए । बिभिन्न मितिमा बिभिन्न स्थानबाट उद्दार भएका ती वन्यजन्तुमध्ये दुई वटा उपचारको क्रममा मरेको उनले जानकारी दिए ।
‘सालकहरु गण्डकी गाउँपालिका, पालुङटार र गोरखा नगरपालिकाबाट उद्दार भएका हुन्,’ काफ्लेले भने, ‘उनीहरुलाई उद्दार गरेर सम्बन्धित पालिकाकै उचित वासस्थानमा छाडिएको छ ।’ गण्डकी गाउँपालिका–४ फलाटेमा भेटिएको सालकलाई उद्दार गरी सोही स्थानको राष्ट्रिय वन क्षेत्रमा छाडिएको उनले जानकारी दिए ।
त्यस्तै पालुङटार नगरपालिका–८ ढुंगेटारीमा भेटिएको सालकलाई उद्दार गरी मिरकोट राष्टिूय वन क्षेत्रमा छाडिएको छ । गोरखा नगरपालिका–९ टक्सारबाट उद्दार भएको सालकलाई टक्सारटारी सामुदायिक वन थानी थानमा छाडिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गोरखा नगरपालिका–३ मा भेटिएको सालकलाई पनि उद्दार गरी चिसापानी सामुदायिक वन क्षेत्रमा छाडिएको छ । उद्दार भएका ती सबै सालक चाइनिज सालक रहेको बताइएको छ ।
त्यस्तै, गतबर्ष कार्यालयले दुईवटा निर बिरालोको उद्दार गरेको थियो । गोरखा नगरपालिका वडा नम्वर ६ र सिरानचोक गाउँपालिका वडा नम्वर ७ बाट उनीहरुको उद्दार भएको हो । तर उद्दार भएका ती दुवै निर बिरालो उपचारको क्रममा मरेको कार्यालयका सूचना अधिकारी महेश पौडेलले बताए ।
उनका अनुसार उनीहरु घाइते अवस्थामा फेला परेका थिए । त्यस्तै आरुघाट गाउँपालिका–३ मा घाइते अवस्थामा फेला परेको हाडे गिद्द पनि उपचारको क्रममा मरेको कार्यालयले जनाएको छ । यता गोरखा नगरपालिका वडा नम्वर १३ गोरखकालीमा घाइते अवस्थामा फेला परेको रतुवा मृगको उद्दार गरी राजदेवी सामुदायिक वनमा छाडिएको कार्यालयका सूचना अधिकारी पौडेलले बताए ।
उनका अनुसार भीमसेन थापा गाउँपालिका वडा नम्वर २ मा भने पोथी चितुवा मृत अवस्थामा फेला परेको थियो । उक्त चितुवालाई कार्यालय परिसरमा खाडल खनेर गाडिएको बताइएको छ ।




