
रुसमा मारिएका सन्दीप थपलियाको कुशको शव बनाएर अन्त्येष्टि
रुस युक्रेन युद्धमा मारिएका सिरानचोक गाउँपालिका ८ लाङ्दीका सन्दीप थपलियाको शव नेपाल ल्याउन नपाएपछि कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ । गत दशैंपछि दरौँदी नदीमा परम्परा अनुसार अन्तिम संस्कार गरिएको आफन्तहरुले बताएका छन् ।
जेठ महिनामा रुसी सेनामा भर्ना भएका ३० बर्षका थपलियाको पाँच महिनाअघि गत असारको १४ गते युक्रेनसंगको युद्धमा मृत्यू भएको थियो ।
ल्याब टेक्निसियनको थप कोर्श अध्ययन गर्न एकबर्षअघि युद्धग्रस्त रुस गएका थिए । बुबा आमाका एक्ला छोरा, थपलिया त्यसअघि काठमाडौँ, पवित्रनगरमा फार्मेसी पसल सञ्चालन गरेर बसेका थिए ।
होस्टेलमा बसेर पढ्दापढ्दै आर्थिक अभाव हुन थालेपछि उनी उच्च जोखिमीको पर्वाह नगरी गत जेठको दुईगते युद्धरत रुसी सेनामा भर्ना भएका थिए । ‘घर परिबारसंग सोधपुछै नगरी रुसी सेनामा भर्ना भएछ । मे १५ को मितिमा सेनामा आवद्ध भएको प्रमाणपत्रको फोटो र बर्दी लगाएको आफ्नो फोटो पठाएपछि पो थाहा भयो’, एक आफन्तले भने, ‘डेढमहिना पनि नपुग्दै जुन २८(असार १४ गते)मा घटना भयो भनेर खबर आयो, त्यही पनि साथीहरुमार्फत । सरकारले चार महिनापछि कात्तिकमा मात्र घटना पुष्टि ग¥यो ।’ सैन्य तालिम नपाएकालाई युद्धमा होमेको भन्दै उनले दुख व्यक्त गरे ।
घटना हुनु केही दिनअघि श्रीमती र बहिनीसंग सम्पर्क भएको थियो । जेठ २५ गते बहिनीसंग र असारको आठ गते श्रीमतीसंग मोबाइलमा सम्पर्क भएको थियो । ‘एक–एक हप्तामा परिबारसंग सम्पर्क गर्न दिन्छ भन्थ्यो । हप्तामा एकफेर सम्पर्क गरेपछि सात दिनसम्म सम्पर्क हुदैनथ्यो’, अर्का एक आफन्तले भने, ‘जुनको २२ गते श्रीमतीसंग सम्पर्क गरेपछि अर्को हप्ता सम्पर्कमा आएन । के भयो होला भनेर मनमा डर र शंका हुन थाल्यो । उसका साथीहरु पनि सम्पर्क हुन्थ्यो । नढाँटीकन भन न भनेर अरु साथीहरुसित सोध्दा जुनको २८ मा उसको दुखद घटना भइसकेको सुनाए ।’
त्यसपछि परिबारले बास्तविकता बुझिदिन आफ्नै छिमेकीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग बारम्बार अनुरोध गरे । परराष्ट्रमन्त्री एन पी साउदसंग, नेपालस्थित रुसी दूतावास, रुसस्थित नेपाली दूतावाससंग पनि बारम्बार आग्रह गरे तर कसैले सुन्ने कान नलगाएको आफन्तजनको गुनासो छ ।
तीन महिनासम्म उनीहरुले व्यक्तिगत रुपमा पहल गरे । ‘घटना भएको, अन्त्येष्टि भएको ठाउँसमेत हामीले जानकारी पाइसकेका थियौँ । अन्त्येष्टि गरेको ठाउँसमेत देखाइदिन्छौँ, प्रमाणित गरिदेऊ भनेर रोइकराइ गर्दा पनि हाम्रो कुराको सुनुवाइ नै भएन’, आफन्तले भने, ‘पछि कात्तिकमा मात्र हामीले औपचारिक जानकारी पायौँ ।’ औपचारिक जानकारी आएपछि मात्र काजकिरिया गर्न पाएको उनले बताए ।
यदि युद्धग्रस्त सेनामा भर्ना भयो भने तालिम नदिइकनै युद्धमा खटाउँदो रहेछ, मृत्यू हुने सम्भावना धेरै हुने रहेछ भन्ने जानकारी सरकारले असारतिरै सार्वजनिक गर्न सकेको भए त्यसयता कोही पनि त्यस्तो जोखिम मलेर त्यहाँ भर्ती हुन नजाने र यति धेरै जनाको मृत्यूको खबर सुन्नु नपर्ने परिबारस्रोतको भनाइ छ ।
‘हामीले त नराम्रो घटना बेहोर्नु प¥यो, यदि यस्तो घटनाको बिषयमा सरकारले बेलैमा सचेत गराएको भए बाँकी पाँच जना भर्ना हुन जाँदैनथे । अहिले उनीहरुको परिबारले पनि यस्तो दुखद खबर सुन्नु पर्ने थिएन’, अर्का एक आफन्तले भने ।




