| बुधबार, कार्तिक २५, २०८३

जग्गा वर्गीकरण गरी कित्ताकाट खुलाउन पालिकाहरु अझै उदासिन

जग्गा वर्गीकरण गरी कित्ताकाट खुलाउन गोरखाका पालिकाहरुले उदासिनता देखाएका छन् । ११ वटा पालिकामध्य पाँचवटा पालिकाले गत असोज महिनाअघि नै प्रक्रिया पूरा गरी कित्ताकाट खुलाएका हुन् । त्यसयता अरु पालिकाले जग्गा वर्गीकरण सम्पन्न गरेका छैनन् ।

जग्गा वर्गीकरण गर्न बाँकी छ वटा पालिकामध्य दुईवटा पालिकाले जग्गा वर्गीकरणको काम अन्तिम चरणमा पु¥याएको जनाएका छन् । सहिद लखन र भीमसेनथापा गाउँपालिकाले जग्गा वर्गीकरणको काम सम्पन्न गरिसकेको अब केही दिनभित्रै बाँकी एकाध प्रक्रिया पूरा गरी कित्ताकाट खुल्ला गरेको सूचना जारी गर्ने जनाएका छन् ।

गोरखा नगरपालिकाले सबै वडाबाट जग्गाको प्रकृतिबारे विवरण संकलन गरेको जनाएको छ । धार्चे र सिरानचोक गाउँपालिकाले भने प्रक्रिया अघि नबढेको जनाएका छन् ।

जग्गा वर्गीकरण नहुँदा कित्ताकाट रोकिएको दुईबर्ष गुज्रिसकेको छ । पालिकाको ढिलासुस्तीले कित्ताकाट रोकिँदा सर्वसाधारणको जग्गाको कारोबार हुन सकेको छैन । जग्गा किनबेच नहुँदा राजस्व संकलनसमेत कमी भएको मालपोत कार्यालयले जनाएको छ ।

सरकारले दुईबर्षअघिदेखि जग्गाको बर्गीकरण गरेर मात्र कित्ताकाट गर्न पाइने व्यवस्था लागु गरेको छ । वर्गीकरण गर्ने प्राधिकार पालिकालाई दिइएको छ । तर केही पालिकाहरुले जग्गा बर्र्गीकरण नगर्दा गतबर्षको जेठ महिनाबाट रोकिएको कित्ताकाटको काम अहिलेसम्म पनि उस्तै छ ।

आफूसंग दक्ष प्राविधिक नभएको र आफ्नै खर्च गरेर परामर्शदाता नियुक्त गर्न पालिकाले अनिच्छा देखाएका हुन् ।
‘हाम्रो पालिकामा जग्गा वर्गीकरणको काम सुरु नै भएको छैन’, सिरानचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश घिमिरेले भने, ‘म पनि भर्खर भर्खर आएको हुँ, खै किन अघि बढेन, थाहा छैन ।’

वडाहरुले विवरण भरी पालिकामा पेश नगरेका कारण वर्गीकरणको प्रक्रिया अघि नबढेको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारको भनाइ छ । ‘विवरण पेश गर्न वडा कार्यालयहरुलाई निर्देशन गरेका हौँ, तर विवरण आएको छैन’, उनले भने, ‘यता जग्गाको त्यति धेरै कारोबार नहुने भएकाले पनि हो कि, जनदवाव पनि आएको छैन । काम पनि ढिलै भइरहेको छ ।’

चुमनुब्री गाउँपालिकाको पनि वडा नं. १, २ र ५ ले मात्र विवरण पेश गरेका छन् । बाँकी चार वटा वडाले विवरण पेश नगरेका सूचना अधिकारी गणेशभक्त त्रिपाठीले जानकारी दिए । जग्गाको किसिमबारे विवरण संकलन कार्य सम्पन्न गरेको भन्दै गोरखा नगरपालिकाले अब विज्ञमार्फत ती जग्गाहरुको वर्गीकरण गर्ने काम सुरु गर्ने जनाएको छ ।

पालुङटार नगरपालिका र वारपाक सुलिकोट गाउँपालिकाको जग्गा वर्गीकरण भएको छ । ती दुई पालिकाको सम्पूर्ण वडाको जग्गा वर्गीकरण भइसकेकाले धमाधम कित्ताकाट भएको मालपोत कार्यालय गोरखाले जनाएको छ । अजिरकोट, आरुघाट र गण्डकी गाउँपालिकाले पनि जग्गाको वर्र्गीकरण गरी कित्ताकाट खुल्ला गरेको जनाएका छन् । तर ती पालिकाको कुनैकुनै वडाको मात्र जग्गाको वर्गीकरण भएकाले सबै वडाको कित्ताकाट भने हुन नसकेको मालपोत कार्यालय गोरखाका दीपक गुरुङले जानकारी दिए ।

भूउपयोग ऐन २०७६ र भूउपयोग नियमावली २०७९ को प्रावधान अनुसार पालिकाहरुले नौ प्रकारमा जग्गा वर्गीकरण गर्नुपर्ने हुन्छ । नियमअनुसार जग्गालाई कृषि, आवासीय, व्यवसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी–खोला, ताल, सिमसार, सार्वजनिक उपयोग र सांस्कृतिक तथा पुरातात्विक महत्वका क्षेत्रमा वर्गीकरण गर्नुपर्ने उल्लेख गरिएको छ । सोही ऐन अनुसार हालसम्म जिल्लाका पाँच स्थानीय तहले जग्गाको वर्र्गीकरण गरी कित्ताकाट खुल्ला गरेका छन् ।

सामागाउँ र स्यालाबासीका लागि जग्गाको निस्सा दिने तयारी

तीसौँ बर्षदेखि सार्वजनिक जग्गामा बसिरहेका चुमनुब्री गाउँपालिका १ र २ का बासिन्दाका लागि भूमि आयोगले जग्गाको निस्सा दिने तयारी गरेको छ । वडा नं. १ सामागाउँ र वडा नं. २ स्यालाका अव्यवस्थित बसोबासीका लागि निस्सा दिने तयारी भइरहेको गाउँपालिकाका प्रमुख निमा लामाले जानकारी दिए ।

‘सामागाउँ र ल्होमा जहिले जाँदा पनि हामीलाई अरु विकास निर्माणको काम भन्दा पनि बसोबास गरेको र गरिखाने जग्गाको लालपूर्जा महत्वपूर्ण छ भन्छन्’, गाउँपालिकाका अध्यक्ष लामाले भने, ‘त्यसैले मैले धेरै दौडधुप गरी निस्सा बाँड्ने काम अन्तिम चरणमा पुगेको छ ।’ अनलाइनबाट लगत प्रविष्टी(डाटा इन्ट्री) गरिसकेको र माथिल्लो निकायले भनेअनुसार गत मंसीर १३ गतेको बैठकले सेवाकेन्द्र प्रमुख तोकेको उनले बताए ।

गाउँपालिका प्रमुख लामाले सोमबार पनि भूमि आयोगका अध्यक्ष केशव निरौलालगायत उपाध्यक्ष, महासचिवहरुसंग भेटेर त्यहाँको समस्याप्रति ध्यानाकर्षण गराएका थिए । ‘संरक्षण क्षेत्र भएकाले अरु क्षेत्रमा भन्दा यहाँ काम गर्न कठिन हुने भएकाले यस सम्बन्धी ऐन संशोधन गरेर काम गर्न प्रधानमन्त्री कार्यालयमा प्रस्तावना पेश गरेका छौँ’, उनले भने, ‘संसदले पास गरेपछि त्यहाँको काम गर्न सहज हुन्छ, अनि काम फटाफट हुन्छ ।’ काम प्रक्रियामा गइकेकाले धमाधम अघि बढिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्