
उत्तरी गोरखामा खाद्यको चामल ढुवानी सुरु
उत्तरी गोरखामा खाद्यको चामल ढुवानी सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले चालु आर्थिक बर्ष २०८०÷०८१ को स्वीकृत कोटाको चामल ढुवानी सुरु गरेको हो । पहिलो चरणमा सिर्दिवास डिपोका लागि चामल ढुवानी सुरु गरिएको कार्यालयकी निमित्त प्रमुख तिर्सना आले मगरले बताइन् ।
‘अहिले ६७ क्वीन्टल अर्थात २ सय ६८ बोरा जिरा मसिनो चामल पठाएका छौँ,’ उनले भनिन्, ‘बाँकी ढुवानी हुदै जान्छ ।’ यो बर्ष सिर्दिवास डिपोका लागि एक हजार क्वीन्टल कोटा निर्धारण भएको उनले जानकारी दिइन् । माछाखोला, नामरुङ र चुम्लिङ डिपोका लागि भने ५÷५ सय क्वीन्टल कोटा निर्धारण भएको उनले बताइन् ।
यो बर्ष सिर्दिवास र नामरुङ डिपोका लागि खाद्यान्न ढुवानीको जिम्मा दुध पोखरी निर्माण सेवाले पाएको छ भने बाँकी डिपोको जिम्मा लिलिएन घले कन्स्ट्रक्सन कम्पनीले पाएको छ । दोभानसम्म यातायातको साधनमार्फत चामल ढुवानी गरिने र त्यहाँबाट खच्चडमा बोकाएर लगिने बताइएको छ ।
कार्यालयका अनुसार हाल डिपो शाखा गोरखामा सोना मंसुली चामलको प्रतिकिलो ५४ रुपैयाँ र स्टिम जिरा मसिनो चामलको प्रति किलो ८६ रुपैया मूल्य निर्धारण गरिएको छ । सिर्दिवास डिपोमा सोना मंसुली चामलको प्रति केजी ५६ रुपैया र स्टिम जिरा मसिनो चामलको प्रतिकिलो ८८ रुपैया मूल्य निर्धारण गरिएको छ ।
माछाखोला डिपोमा सोना मंसुली चामल प्रतिकेजी ५४ रुपैया र स्टिम जिरा मसिनो चामल प्रति किलो ८८ रुपैया र नामरुङ डिपोमा सोना मंसुली चामलको प्रति किलो ६५ रुपैया र स्टिम जिरा मसिनो चामलको प्रति किलो ९१ रुपैया मूल्य तोकिएको कार्यालयका सूचना अधिकारी शिव सुनारले बताए ।
चुम्लिङ बिक्री केन्द्रमा भने सोना मंसुली चामलको प्रतिकिलो ६५ र स्टिम जिरा मसिनो चामलको प्रतिकिलो ९० रुपैया निर्धारण गरिएको उनले जानकारी दिए । यो बर्ष समयमै निर्धारित कोटाको खाद्यान्न ढुवानी भइसक्ने बताइएको छ ।




