
मनकामनामा गुठी पञ्चमी मेला
प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर प्रांगणमा गुठी पञ्चमी मेला सम्पन्न भएको छ । गोरखा उद्योग वाणिज्य संघ, मनकामना बजार इकाइले सो क्षेत्रको धर्मसस्कृति संरक्षण गर्ने उद्देश्यले गुठी पञ्चमी मेला आयोजना गरेको हो ।
मेलामा पञ्चेबाजा, मारुनी, चुट्का, थाल नाँचको प्रदर्शनी गरिएको मनकामना बजार इकाइका अध्यक्ष हरिकुमार श्रेष्ठले बताए । साथै मेलामा विभिन्न साँस्कृति भेषभुषा सहितका नृत्य, दोहारी गीत र कन्सर्ट समेत आयोजना गरिएको उनले बताए ।
यहाँ परापूर्वक काल देखि नै पन्चेबाजा सहित फुलको टोली आउने र पञ्चमीको दिन देखि तीन दिन सम्म मेला आयोजना हुदै आएको थियो । तर विगत केहि वर्ष यता कोरोना, निर्वाचन लगायत विविध कारणले मेला आयोजना हुन नसकेको उनले बताए । अहिले स्थानीय युवाहरु, उवासंघ मनकामना बजार इकाइको मिलेर स्थानीय धर्मसंस्कृति, परम्परा, रितीतिथीलाई संरक्षण गर्न चार वर्ष पछि मेला आयोजना गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा झाँकी सहित विभिन्न साँस्कृति नृत्य प्रस्तुत गर्नेलाई प्रोत्साहन स्वरुप आयोजकले सात÷सात हजारका दरले बाटोखर्चस्वरुप नगद प्रदान गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
मनकामना बजार इकाइका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा सहिदलखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगर, उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, वडा नं २ का वडा अध्यक्ष सकुन थापा, मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशी लगायतले मन्तव्य राखेका थिए ।




