| बुधबार, कार्तिक २५, २०८३

गोरखा नगरपालिकामा रोजगारी सिर्जना गर्न नमूना कार्यक्रमको सुरुवात

गोरखा नगरपालिकाले रोजगारी सिर्जना गर्ने उद्देश्यले नमूना कार्यक्रमको थालनी गरेको छ । नगरपालिकाले ‘रोजगार प्रवद्र्धन तथा पूर्वाधार कार्यक्रम’ नाम दिएर पाइलट प्रोजेक्ट(परीक्षण)का रुपमा सुरु गरेको मेयर कृष्ण राना मगरले जानकारी दिए ।
शुक्रबार वडा नं. ११ बाट सो पाइलट प्रोजेक्टको सुरुवात गरेको उनले बताए । पाइलट प्रोजेक्टका रुपमा सो वडाभित्र पाँचवटा उपभोक्ता समिति गठन गरी योजना कार्यान्वयन गर्न ५५ जना कामदार छनोट गरिएको मेयर रानाले जानकारी दिए । जसमा सडक, फुटपाथ, खानेपानी, टयांकी, सामुदायिक भवन र सिँडीबाटो निर्माण आदिको उपभोक्ता समिति बनाएर नमूना कार्यक्रम सुरु गरेको वडा अध्यक्ष रामबहादुर खड्काले बताए ।

प्रत्येक उपभोक्ता समितिमा ११ जना सदस्य(कामदार) रहनेछन् । समितिहरुले आ–आफ्नो जिम्मेवारी अनुसार वडा भित्रका विकास निर्माण सम्बन्धी योजनाहरु सोही ११ जना परिचालन गरी कार्यान्वयन गर्ने वडा अध्यक्ष खड्काले बताए । यसका लागि चालु वर्ष सो वडामा एक करोड र नगरपालिकाले एक करोड गरी कुल दुई करोड रुपैयाँको योजना गरिनेछ ।
शुक्रबार पाँच वटा उपभोक्ता समिति र नगरपालिका बीच योजना सम्झौता भएको र अब सम्झौता अनुसार काम अघि बढ्ने उनले जानकारी दिए ।

शुक्रबार कामदारहरुलाई चाहिने आवश्यक सामग्रीहरु पनि वितरण भइसकेको र केही सामग्री छिट्टै वितरण हुने उनले बताए । ‘काम गर्दा लगाउने पोशाक, ज्याकेट, रेनकोट, हेल्मेट, गम्बुट लगायतका सामग्री वितरण गरिसकियो । अझै केही सामग्री छिट्टै दिन्छौँ,’ उनले भने । प्रत्येक कामदारले ६ आइटमका सामग्री पाउने उनको भनाइ छ ।

वडाभित्रका सबै योजनाहरु यही समितिका सदस्यले गर्ने हँुदा अब आउने आर्थिक वर्षसम्म उनीहरु काममा व्यस्त हुने उनले बताए । कामदारले जिल्लाको दररेट अनुसार नै ज्याला पाउनेछन् । उनका अनुसार एउटा उपभोक्ता समितिमा करिब ४० देखि ५० लाख रुपैयाासम्म बजेट विनियोजन गरिएको छ ।

अव विगतमा जस्तो उपभोक्ता समितिले आलटाल गरेर काम नगर्ने, योजना फिर्ता हुने जस्ता काम नहुने नगरपालिकाको अपेक्षा छ । छनौट भएका ५५ जनाले नै नगरपालिकाले सञ्चालन गर्ने सो वडाभित्रका सबै विकास निर्माणको काम यही समितिले गर्ने उनले बताए ।

‘अहिलेसम्म नगरपालिकाले हरेक विकास निर्माणका कामहरु उपभोक्ता समितिमार्फत गर्दै आएको छ, तर उपभोक्ता समिति एउटा ढंगले गठन हुने र समितिले ठेक्कापट्टा गर्ने मान्छेलाई भित्र्याउने र उनीहरुमार्फत काम गर्ने परिपाटि अन्त्य हुनेछ,’ उनले भने, ‘वडाभित्र जो, जो बेरोजगार छन्, उनीहरुलाई रोजगार दिन यो कार्यक्रम ल्याएको हो ।’ ठेक्कापट्टा गर्दा ठेकेरदाले बाहिरको मान्छे ल्याउने र स्थानीय बेरोजगार भएर बस्नु परेको बताउदै आफनौ वडाको काम आफैले गर्ने उद्देश्यका साथ यो कार्यक्रम लागु गरिएकोे उनले बताए ।

पाँच वटा उपभोक्ता समितिमा अहिले तत्काल ५५ भन्दा बढी थप नगर्ने र समिति भित्रका कसैले छोडेर अन्य गएमा नयाँ कामदारलाई अवसर दिने उनले बताए । वडाले १५ दिने सूचना टाँस गरी आवेदन माग गरिएको थियो । आवेदन दिएकाहरु मध्यबाट ५५ जनालाई छनौट गरिएको उनले बताए । कामदारको उमेर, काम गर्न सक्ने क्षमता, उनीहरुको क्रियाशीलता लगायतका आधारमा वडा समिति र नगरपालिकाको प्राविधिकले उनीहरुलाई छनौट गरिएको उनले बताए ।

अहिले गठन गरिएको समितिबाट विकास निर्माण कार्य प्रभावकारी देखिएमा आगामी वर्षबाट सबै वडामा यो कार्यक्रम लागु गर्ने गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले बताए । हाल गठन गरिएको पाँच वटा समितिले वडा भित्रका सबै विकास निर्माण कार्य गर्ने बताए । यो कार्यक्रम कार्यान्वयन हुँदा स्थानीयले रोजगार पनि पाउने र विकास निर्माण कार्य पनि प्रभावकारी हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्