
गोरखा जिल्लाभर एक वर्षभित्र केन्द्रीय प्रसारण लाइन पुग्ने
गोरखाको सबै क्षेत्रमा एक वर्षभित्र केन्द्रीय प्रसारण लाइन पुग्ने भएको छ । नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका अनुसार केन्द्रीय प्रसारण लाइन पुग्न बाँकी रहेको सबै स्थानमा एक वर्षभित्र प्रसारण लाइन पुग्ने भएको छ ।
जिल्लाको आरुघाट, धार्चे र चुमनुब्री गाउँपालिकाकाका केन्द्रीय प्रसारण लाइन जडानको जिम्मेवारी आरुघाट वितरण केन्द्रले गर्दै आएको छ । यीबाहेकका जिल्लाका अन्य स्थानीय तहका केन्द्रीय प्रसारण लाइन जडान कार्य गोरखा वितरक केन्द्रले गर्दै आएको छ ।
गोरखा वितरक केन्द्रका कार्यालय प्रमुख चिजबहादुर गुरुङका अनुसार हाल धार्चे गाउँपालिकाको लाप्राक, बारपाक सुलिकोट गाउँपालिकाको स्वाँरा, सौरपानी, दुम्सीका, अजिरकोट गाउँपालिकाको धारापानी, हंसपुर र वडा नं १ देखि ५ सम्म केहि ठाउँमा केन्द्रीय प्रसारण लाइन पुग्न बाँकी रहेको छ । ती स्थानमा आगामी एक वर्षभित्रका केन्द्रीय प्रसारण लाइन पुग्ने उनले बताए । अन्य स्थानहरुमा पनि छिटपुट केही छुटेको स्थानमा केन्द्रीय प्रसारण लाइन जडान हुने उनको भनाइ छ ।
यसका लागि १२ करोड ३७ लाख ६४ हजार रुपैया बजेट विनियोजन भएर आएको छ । सो रकमले विद्युत पोल, तार, ट्रान्सफर्मर लगायतका सामाग्री खरिद गर्नेछन् । केन्द्रीय कार्यालयले नै सामग्री खरिद गरेर जिल्लामा पठाउने उनले बताए । सो सामान ढुवानी र केन्द्रीय लाइन जडानका लागि ठेक्का आह्वान पनि भइसकेको छ ।
गुरुङका अनुसार केन्द्रीय प्रसारण लाइन जडान गर्ने जिम्मा स्वाभिमान कन्स्ट्रक्सन कम्पनीले कार्यालयसँग सम्झौता गरिसकेको छ । गत कार्तिक २१ गते ८७ लाखको लागतमा कार्यालयसँग एक वर्षभित्र केन्द्रीय प्रसारण लाइन जडान गर्ने ठेक्का सम्झौता भएको कार्यालय प्रमुख गुरुङले जानकारी दिए ।
केन्द्रीय कार्यालयबाट समयमै सामग्री आएको खण्डमा सम्झौता भएको समयसीमाभित्र नै सबै ठाउँमा केन्द्रीय प्रसारण लाइन जडान हुने उनले बताए ।
जिल्लाभित्रका ४८ सय घरधुरी अझै पनि केन्द्रीय प्रसारण लाइनबाट बन्चित रहेको कार्यालयले जनाएको छ । ती स्थानमा हाल लघु जलविद्युत बाल्दै आएका छन् । लघु जलविद्युत भएका स्थानमा स्थानीयहरुले चासो नदिएका कारण केन्द्रीय प्रसारण लाइन पुग्न ढिलाइ भएको उनले बताए ।




