| बुधबार, कार्तिक २५, २०८३

बिओपी स्थापनामा जिल्ला तयार, केन्द्रको बेवास्ता

डिएसपी बोगटी भन्छन् : यो महिनामा नभए फागुन यता सम्भव छैन :

गत साउन महिनामा जिल्लाका पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले २०८० साल साउन महिनाभित्रै उत्तरी गोरखामा सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट (बिओपी) स्थापना हुने बताएका थिए । आवश्यक सामाग्रीहरु हेलिकप्टर मार्फत ढुवानी गरिने आश्वासन समेत उनले दिएका थिए । उनले दिएको भाका नाघेको पनि तीन महिना वितिसक्यो, तर अझै बिओपी स्थापना हुन सकेको छैन ।

केन्द्रको आधिकारीक निर्देशन नआएका कारण बिओपी स्थापना गर्न अन्योल भएको सशस्त्र प्रहरी बल गोरखा गुल्मका डिएसपी सुमन बोगटीले बताए । ‘हामी पूर्ण रुपमा तयार छौ, प्रहरी निरिक्षकको कमाण्डमा २० जनाको टोली स्ट्याण्डबाई छन्,’ उनले भने, ‘माथिको निर्देशन कुरेर बसेका हौँ ।’ सामागाउँमा बिओपी स्थापनाका लागि केही दिनअघि सो क्षेत्रको स्थलगत निरीक्षण समेत गरिएको उनले जानकारी दिए ।

‘बिओपी राख्न केही घरहरु पनि हे¥याँै, होटल संचालनका लागि बनेका भवन भाडामा लिएर बिओपी राख्न स्थानीयसँग मोटामोटी सहमति पनि भएको छ,’ डिएसपी बोगटीले भने । मासिक करिव सात हजार घरभाडा तिर्ने गरी आपसी समझदारी समेत भएको उनले जानकारी दिए ।

तर आर्थिक बिषयमा केन्द्रको आधिकारिक निर्णय नआएका कारण समस्या भएको उनले बताए । बिओपी स्थापनाका लागी करिव २० लाख लाग्ने अनुमान गरिएको उनको भनाइ छ । उनका अनुसार महत्वपूर्ण सामान ढुवानीका लागि हेलीकप्टर चार्टर गर्नुपर्ने अवस्था छ । ‘खच्चडबाट सामान ढुवानी गर्छाै तर सबै सामान खच्चडबाट बोकाउन मिल्दैन । केही सामान हेलिबाट पनि लानुपर्ने हुन्छ, बिओपी स्थापनादेखि उद्घाटनसम्मको सबै खर्च जोड्दा करिव २० लाख लाग्ने अनुमान गरेका छौ,’ उनले भने ।

उक्त रकमबारे केन्द्रमा जानकारी गराएको भन्दै उनले केन्द्रको आधिकारिक निर्देशन पश्चात बिओपी स्थापना हुने बताए । उनका अनुसार हालसम्म केन्द्रको आधिकारिक निर्णय र धारणा भने आएको छैन । ‘केन्द्रमा कुरा त भइराखेको छ, यही महिनाभित्र हुन सक्ने सम्भावना पनि छ, यो महिना भएन भने पुस माघमा जान सकिदैन, फागुन लागेपछि मात्र सम्भव हुन्छ,’ उनले भने ।

यता प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले पनि केन्द्रको निर्देशन नआएका कारण बिओपी स्थापना हुन नसकेको बताए । जिल्लामा सबै तयारी पूरा भएपनि केन्द्रबाट पत्राचार नभएका कारण ढिलाई भएको उनले जानकारी दिए । केन्द्रबाट आधिकारिक निर्देशन आएलगतै बिओपी स्थापना हुने उनको भनाइ छ । (

प्रतिक्रिया दिनुहोस्