| बुधबार, कार्तिक २५, २०८३

सौरपानीमा चितुवा आतंक बढ्यो, घाँस दाउरा गर्न समेत स्थानीयलाई डर

बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीमा चितुवा आतंक बढेको छ । जताततै चितुवाले आक्रमण गर्न थालेको भन्दै स्थानीयबासी खेतबारीको काम, घाँस दाउरा गर्नसमेत त्रसित भएका छन् ।

विगत केही दिनदेखि सौरपानीको पोखरा, पोखरी र आरुबोटे गाउँ आसपास चितुवाको आतंक बढेको स्थानीयले बताएका छन् । ‘तीन दिन जति भयो गाउँ आसपास चितुवा कराउन थालेको,’ स्थानीय मिलन ढकालले भने, ‘दिन दहाडै कराउने गरेकाले घर बाहिर निस्कन पनि डरैमर्नु छ ।’

बसाइँसराइका कारण गाउँमा मान्छे रित्तिदै गएकाले पनि चितुवा आतंक बढेको उनको अनुमान छ । ‘अहिले गाउँमा मान्छे खासै छैनन्, खेति हुने बारी समेत बाँझो बसेर उतिस घारी भइसक्यो, त्यसैले बाघ आएको हुनसक्छ,’ ढकालले भने ।

केही दिन अघि चितुवाले एउटा बोका र माउ बाख्रा खाइदिएको स्थानीय टिकाराम श्रेष्ठले बताए । ‘घर नजिकैको बारीमा चराउन लगेको थिए, चितुवाले दुई वटा खाइदियो, अहिले डरले चराउन लानै छाडेको छु,’ उनले भने ।

उनको गोठमा अहिले करिव ४० वटा बाख्रा छन् । चितुवाको आतंक बढेपछि घासपात गर्न जान समेत स्थानीय डराएका छन् । अहिले पनि चितुवा गाउँ आसपासै कराइरहने गरेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्