| बुधबार, कार्तिक २५, २०८३

गोरखा उद्योग वाणिज्य संघद्वारा कर्णालीका भूकम्प पीडितलाई आर्थिक सहयोग

कर्णालीका भूकम्प पीडितलाई सहयोग गर्ने उद्देश्यले संकलन गरिएको रकम गोरखा उद्योग वाणिज्य संघले सोमबार त्यसतर्फ पठाएको छ । सहयोग संकलन अभियानमार्फत जम्मा भएको ५१ हजार रुपैयाँ जिल्ला विपद् व्यवस्थापन समितिमार्फत त्यसतर्फ पठाइएको हो ।

संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले सो रकम समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई हस्तान्तरण गरेका थिए ।

कर्णाली प्रदेशको जाजरकोट र रुकुमपश्चिममा गएको विनाशकारी भूकम्पबाट क्षति पुगेकाहरुलाई राहत उपलब्ध गराउने उद्देश्यले आर्थिक सहयोग प्रदान गरिएको संघ गोरखाका अध्यक्ष श्रेष्ठले बताए । गोरखा उद्योग वाणिज्य संघ र गोरखा उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिबाट जम्मा भएको ५१ हजार रकम प्रजिअमार्फत सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उनले जानकारी दिए ।

‘२०७२ सालमा बारपाक केन्द्र विन्दु भएर गएको भूकम्पले गोरखालाई धेरै नै क्षति पु¥याएको थियो । धेरैको जनधनको क्षति भएको थियो । त्यतिबेला विभिन्न व्यक्ति र व्यवसायीहरुबाट धेरै सहयोग प्राप्त भएको थियो,’ उनले भने, ‘यसले गोरखाबासीलाई धेरै नै राहत भएको थियो । त्यहि भएर कर्णालीका भूकम्प पीडितहरुको उद्धार र राहतका लागि सहयोग होस भनेर केहि नगद सहयोग गरेका हौँ ।’

चेक बुझदै प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले पनि उक्त राहत सहयोग अभियानबाट संकलन भएको रकमले भूकम्प पिडित कर्णालीबासीलाई मलमपट्टी लगाउन धेरै नै सहयोग पुग्ने बताए । गत कार्तिक १७ गते जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पले एकसय ५७ जना भन्दा बढिको मृत्यु भएको थियो भने अर्बौँको धनमाल क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्