
सन्दर्भ : लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान, साउनयता मात्र महिला हिंसासम्बन्धी १५ वटा उजुरी दर्ता
चालु आर्थिक वर्ष २०२०÷०८१ को चार महिनामा गोरखामा महिला हिंसा सम्बन्धी १५ वटा उजुरी दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाअन्तरगत महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा चार महिनामा १५ वटा उजुरी दर्ता भएका हुन् ।
केन्द्रमा बाल यौन दुरुपयोगका तीन वटा, बोक्सीको आरोपमा एक र बलात्कार गरेको आरोपमा एउटा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी रमेशकुमार श्रेष्ठले बताए । बलात्कार प्रयासको आरोपमा नौ वटा र बहुविवाहको आरोपमा एक वटा उजुरी दर्ता भएको उनले जानकारी दिए ।
त्यस्तै, आर्थिक वर्ष २०७९÷०८० मा बाल यौन दुरुपयोग सम्बन्धी दुई वटा, बलात्कार सम्बन्धी तीन वटा, बलात्कारको प्रयास सम्बन्धी २० वटा र बहुविवाह सम्बन्धी पाँच वटा उजुरी दर्ता भएका थिए । आर्थिक वर्ष २०७८÷०७९ मा बालयौन दुरुपयोग सम्बन्धी चार वटा, बलात्कार सम्बन्धी तीन वटा, बलात्कार प्रयास सम्बन्धी २१ वटा र बहुबिवाह सम्बन्धी तीन वटा उजुरी दर्ता भएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
त्यस्तै, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका अनुसार चालु वर्षको चार महिनामा घरेलुहिंसा सम्बन्धी ११ वटा निवेदन दर्ता भएका छन् । ती मध्ये १० वटा मिलापत्र गरिएको र एउटा निवेदन अन्य निकायमा गएको जनाएको छ । कार्यालयमा दर्ता भएका अधिकांश निवेदनलाई मिलापत्र गरेर पठाइएको डिएसपी श्रेष्ठले बताए ।
उनका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा घरेलु हिंसा सम्बन्धी कुल ११९ वटा निवेदन दर्ता भएका थिए । तीमध्ये ८० वटा मिलापत्र, २६ वटा अन्य निकायमा पठाएको र १२ वटा निवेदक सम्पर्कमा नआएको उनले जानकारी दिए ।
त्यस्तै, आर्थिक वर्ष २०७८÷०७९ मा घरेलु हिंसा सम्बन्धी कुल १४५ वटा निवेदन दर्ता भएका थिए । तीमध्ये ७६ वटा मिलापत्र गरिएको र ५५ वटा अन्य निकायमा पठाएको र १४ वटा निवेदक सम्पर्कमा नआएको सूचना अधिकारी डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।




