
गोरखामा गण्डकी प्रदेशका सबै जिल्लाका जिससको असल अभ्यास आदान प्रदान
गोरखामा गण्डकी प्रदेशका सबै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुखहरुको भेला सम्पन्न भएको छ । आइतबार जिल्ला समन्वय समितिको हलमा आयोजना गरिएको भेलामा गण्डकी प्रदेशका ११ वटै जिससका प्रमुखहरुले आफ्ना जिल्लाभित्रका पालिकाहरुका असल अभ्यासहरु प्रस्तुत गरेका थिए ।
जिल्ला समन्वय समिति गोरखाको आयोजनामा सम्पन्न समन्वयात्मक बैठकमा जिससहरुले आ–आफ्ना अनुभवहरुका बारेमा पनि अन्तरक्रिया गरिएको थियो ।
समन्वयात्मक वैठकमा प्रदेशभित्रका ८५ वटै स्थानीय तहहरु बीच कृषि तथा पशुपंक्षी, सडक, पूर्वाधार, स्वास्थ्य, शिक्षा आदिका बारेमा पनि अनुभव आदान प्रदान गरिएको थियो । साथै वन तथा वातावरण, विपद व्यवस्थापन, पर्यटनसम्बन्धी अभ्यासको पनि अनुभव साँटासाँट गरिएको थियो ।
सो अवसरमा सँधै विवादित बन्ने गरेको विषय नदीजन्य पदार्थको उत्खनन, संकलन तथा विक्री वितरणका क्रममा भोगेका कठिनाइ र समाधानको अभ्यासका बारेमा पनि छलफल गरिएको थियो ।
समन्वयात्मक बैठकमा न्यायिक कार्यसम्पादन, राजस्व सुधार योजना लगायतका विषयमा पनि अनुभव साँटासाँट गरिएको थियो ।
कार्यक्रममा प्रदेश भित्रका ११ वटै जिल्ला समन्वय समितिले आ–आफनो जिल्लाको संक्षिप्त परिचय, सबै जिल्लाका स्थानीय तहका उ्रत्कृष्ट अभ्यासहरु र प्रत्येक जिल्लाका सम्भावनाहरुका बारेमा प्रस्तुतीकरण गरिएको थियो । जसमा गोरखाले पर्यटन, कृषि उद्योग र जलविद्युत आयोजनाको विषयमा प्रस्तुत गरेको थियो ।
कार्यक्रममा जिसस गोरखाका समन्वय अधिकारी नानीबाबु पोखरेलले ११ वटा स्थानीय तहहरुले गरेका असल अभ्यास, उत्कृष्ट कार्य र सम्भावनाका बारेमा प्रस्तुत गरेका थिए ।
साथै अन्य जिल्लाका जिससका प्रतिनिधिहरुले मातृशिशु तथा सुत्केरी पोषण कार्यक्रमको सुरुवात, दुध उत्पादनका लागि अनुदानका बारेमा अनुभव सुनाएका थिए । त्यसैगरी छोरीको सुनौलो कार्यक्रम, कृषि बीउबीजनमा अनुदान, परम्परागत पेशा सम्बन्धी सामग्री वितरण, कृषि सामग्रीमा अनुदानलगायतका विषयमा पनि सुनाएका थिए ।
विद्यालय पढ्दै कमाउदै कार्यक्रमको थालनी, बालमैत्री शासनयुक्त स्थानीय तह घोषणा र आभारभूत तहसम्मको स्थानीय पाठ्यक्रम निर्माणको सुरुवात सम्बन्धी प्रस्तुती गरेका थिए । त्यस्तै, राजस्व संकलनमा छुट्टै सफ्टवेयरको प्रयोग, अपाङ्ग र बालमैत्री स्थानीय पूर्वाधार निर्माण गरिएको विषयमा पनि प्रस्तुत गरिएको थियो । एमबिबिएस र इन्जिनियर अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने कार्यको थालनी, समय समयमा घुम्ति शिविर सञ्चालन गरी टोल टोलमा प्रशासनिक र प्राविधिक सेवा प्रदानको प्रयास, पालिकाहरुमा सय प्रतिशत पशु र कृषि विमा कार्य अगाडि बढाएको लगायतको विषयमा प्रस्तुतीकरण दिएका थिए ।
जिल्ला समन्वय समिति गोरखाका अध्यक्ष मोहन थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा ११ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, समन्वय अधिकारी, गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना, गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेससागर भुसाल लगायतको उपस्थिति रहेको थियो ।
आगामि दिनमा पनि यस्ता विभिन्न विषयमा पारस्परिक रुपमा असल अभ्यास एवं सिकाइ अनुभव आदान गर्ने निर्णय गरिएको छ । बैठकले सबै जिल्ला समन्वय समितिहरुले आ–आफनो जिल्लाभित्रका स्थानीय तहसँग सशक्त रुपमा समन्वय एवं सहजीकरण गर्दै जाने निर्णय गरेको छ । सो वैठकले प्रदेशस्तरीय जिल्ला समन्वय समितिहरुको आगामी वैठक नवलपुरमा आयोजना गर्ने पनि निर्णय गरेको छ ।




