
गोरखामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
गोरखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शनिबारबाट सुरु भएको छ । जिल्लाका ११ वटा स्थानीय तहमा एकैसाथ अभियान सुरु भएको हो ।
अभियान सुरु भएको दिन शनिबार बिहान सामाजिक विकास कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यालयदेखि ठूलोआँगनसम्म प्रभातफेरी कार्यक्रम भएको थियो । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता’ भन्ने नाराका साथ सरकारी तथा गैरसरकारी संघसंस्थाका पदाधिकारीहरु प्रभातफेरी कार्यक्रममा सहभागी भएका थिए । शनिबारबाट सुरु भएको अभियान मंसिर २४ गतेसम्म संचालन हुनेछ ।
सोही लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत गोरखा नगरपालिकामा अन्तरत्रिया कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला न्यायधिवक्ता सुरेन्द्रराज काफ्ले र प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुसालले कार्यक्रममा प्रशिक्षण मन्तव्य राखेका थिए । उनीहरुले अभियान अन्तरग हिंसाको परिभाषा, हिंसाको प्रकार, हिंसाको विकासक्रम, हिंसाको अवस्थाको विश्लेषण, हिंसाबाट परेको दुस्प्रभाव, असर, हिंसा हुनुका कारण र हिंसा न्यूनीकरणका लागि कानूनी उपचारका बारेमा प्रशिक्षणमुलक मन्तव्य दिएका थिए । १६ दिने अभियानमा १६ प्रकार कार्यक्रमहरु संचालन हुने नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विजय उपाध्यायले जानकारी दिए । उनका अनुसार विभिन्न संघसंस्थाहरुको सहयोगमा विभिन्न कार्यक्रम संचालन हुनेछ ।
गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा मगर, गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना, प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुसाल, जिल्ला न्यायधिवक्ता सुरेन्द्रराज काफ्ले, नगरकार्यपालिका सदस्य, वडा अध्यक्ष लगायत सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सोही अभियान अन्तरगत सामाजिक विकास कार्यालय गोरखाको आयोजना तथा गण्डकी गाउँपालिकाको समन्वयमा गत मंसिर ४ गते गाउँपालिकाको वडा न. ७ घ्याल्चोक स्थित ज्ञानमार्ग माविमा विद्यार्थी परिचालनको लागि अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरिएको थियो । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता ः महिला र बालबालिकाहरुमा लगानीको प्रतिबद्धता’ भन्ने नाराका साथ अभिमुखीकरण कार्यक्रम संचालन गरिएको सामाजिक विकास कार्यालय गोरखाका प्रमुख दिपेन्द्र परियारले बताए ।
कार्यक्रममा विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत ५० जना विद्यार्थीलाई लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । ५० जना विद्यार्थीलाई १३ समूहमा विभाजन गरी आइतबारबाट घरभेट कार्यक्रममा परिचालन गरिएको उनले बताए । एउटा समूहमा ४ जना हुने र प्रत्येक समूह घरघरमा गएर लैङ्गिक हिंसा भनेको के हो ? यसको कानूनी उपचार कहाँ हुन्छ, यससँग सम्बन्धित निकायहरुका बारेमा ३ देखि ५ मिनेटसम्म जानकारी दिने उनले बताए ।
अभियान अवधिभर एउटा समूहले करिब दुईसय जनालाई गरी करिब दुई हजार भन्दा बढीलाई लैङ्गिक हिंसा सम्बन्धी जानकारी पुग्ने अनुमान गरिएको कार्यालय प्रमुख परियारले जानकारी दिए । विद्यार्थीहरु आफनो अनुकुलता अनुसार विहान, दिउसो, बेलुका परिचालिन हुनेछ । गाउँघरमा मान्छेहरुलाई लैङ्गिक हिंसा सम्बन्धी जानकारी दिन यो वर्ष फरक कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।




