| बुधबार, कार्तिक २५, २०८३

उद्योग दिवसको अवसरमा गोरखाका उत्कृष्ट उद्यमीहरु सम्मानित

नवौँ राष्ट्रिय उद्योग दिवसको अवसरमा जिल्लाका उत्कृष्ट उद्योगका उद्यमी व्यवसायीहरु सम्मानित भएका छन् । पर्यटन तथा उद्योग कार्यालय गोरखाले एक समारोहको आयोजना गरी तीन सफल उद्योग तथा ती उद्योगका उद्यमीहरुलाई सम्मान गरेको हो ।

शनिबार आयोजित उद्योगी व्यवसायीहरूसँग छलफल तथा अन्तरक्रिया एवम् उत्कृष्ट उद्यमी सम्मान कार्यक्रममा उनीहरुलाई दोसल्ला र प्रसंसापत्र प्रदान गरी सम्मान गरिएको हो ।

‘स्वदेशी उत्पादन अभियान : उद्यमी सम्मान’ भन्ने नाराका साथ द युनिक टेलर्सका सञ्चालक विकासबाबु परियार, पुष्पा ढाका कपडा उद्योगकी सञ्चालक गंगा थापा र गोरखकाली हस्तकला उद्योगका सञ्चालकहरू रीता रेग्मी अर्याल, अस्मिता कट्टेल, सिर्जना पाण्डे, विनाकुमारी श्रेष्ठ र गीता देवकोटालाई प्रशंसापत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको कार्यालय प्रमुख सूर्य भुजेलले बताए ।

कार्यक्रममा गोरखा जिल्लाको उद्योगको अवस्था, उद्योग दर्ताको अवस्था, औद्योगिक सम्भावनाको अहिलेको अवस्थाका बारेमा कार्यालय प्रमुख भुजेलले प्रस्तुतीकरण गरेका थिए । अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले स्थानीय उत्पादनको बजारीकरण नभएको, साना उद्योगी, रुग्ण उद्योगलाई संचालनमा सरकारले ध्यान नदिएको भन्दै गुनासो गरेका थिए । त्यस्तै, बजार अनुगमन प्रभावकारी गरेर सबै व्यवसायीहरु दर्ता हुनुपर्ने जोड दिएका थिए ।

कार्यालय प्रमुख भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा, गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना, प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जीवनज्योति श्रेष्ठ, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, गोरख चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष रामस्वरुप श्रेष्ठ, नेपाल उद्यमी महिला संघ नेपालका अध्यक्ष रिता रेग्मी अर्यालले लगायतका उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्