
बसपार्कदेखि खोलखोलेसम्मको सडक फराकिलो पारेर फुटपाथ बनाउने, प्रारम्भिक सर्भेको काम सकियो
गोरखा बजारको पुरानो बसपार्कदेखि खोलखोलेसम्मको सडक चौडा बढाएर फुटपाथलाई व्यवस्थित बनाइने भएको छ । उक्त कामको डिपिआर निर्माणका लागि प्रारम्भिक सर्भेको काम भइसकेको नगरपालिकाले जनाएको छ ।
‘परामर्शदातामार्फत प्रारम्भिक सर्भेको काम सम्पन्न भइसक्यो,’ कार्यालयका इन्जिनियर प्रकाश ढकालले भने, ‘अब उहाँहरुले हामीलाई प्रतिवेदन बुझाउनुहुन्छ । त्यसमाथि आवश्यक छलफल गरेर डिपिआर तयार गर्छाै ।’ सोही प्रतिवेदनको आधारमा डिपिआर तयार गरिने बताउँदै उनले थपे, ‘परामर्शदाताको प्रतिवेदन आएपछि सडक कति चौडा गर्ने, फुटपाथ कति बनाउने भन्ने एकीन गरेर सोही अनुसार डिपिआर तयार गर्छाै ।’ तयार गरिएको डिपिआर नगर कार्यपालिकाको बैठकले स्वीकृत गरी स्रोत सुनिश्चितता गरेपछि ठेक्का प्रक्रिया अघि बढ्ने ढकालले जानकारी दिए ।
उक्त योजनाका लागि नगर सभाले बहुबर्षीय योजना अन्तरगत चालु आर्थिकवर्ष ८० लाख रकम विनियोजन गरेको छ । एक महिनाभित्र डिपिआरको टुंगो लागेर ठेक्का प्रक्रिया अघि बढ्ने नगरपालिकाले जनाएको छ । फुटपाथ निर्माण तथा सडक बिस्तारका लागि नगर प्रमुख, वडाध्यक्ष र प्राविधिकको टोलीले सो क्षेत्रको स्थलगत निरीक्षण गरी स्थानीयसँग एक चरणको छलफल समेत गरिसकेका छन् ।




