
गोरखामा चोरीको आरोपमा लमजुङका एक युवक पक्राउ
गोरखामा चोरीको आरोपमा एक जना पक्राउ परेका छन् ।
लमजुङ जिल्लाको दुधपोखरी गाउँपालिका वडा नं १ माझबारीका २४ वर्षीय रमेश भट्टराइलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले बताए ।
भट्टराईले गत शनिबार राती ११ बजे सिरानचोक गा.पा. वडा नं.६ स्थित दरौंदी क्रसर उद्योगको परिसरबाट क्रसर उद्योगको सामानहरु चोरी गरेको उनले बताए ।
सो घटनाको अनुसन्धानको क्रममा भट्टराईलाई मंगलबार गोरखा न.पा. वडा नं.१३ बाट पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए । उनका अनुसार पक्राउ परेको भट्टराईको साथबाट क्रसर मेसिनको प्राईमरी पीन दुइ थान बराम गरिएको थियो ।
भट्टराई विरुद्ध बुधबार चोरी कसूर शीर्षकमा मुद्धा दर्ता भएको छ । उनलाई जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




