
बूढीगण्डकी नदी र रेसे खोला आसपास फोहोर फाल्न निषेध
धार्चे गाउँपालिकाले बूढीगण्डकी नदी र रेसे खोला आसपास फोहोर फाल्न निषेध गरेको छ । वुधवार सार्वजनिक सूचना जारी गर्दै पालिकाले आइतवार बसेको गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको जानकारी गराएको छ ।
‘सफा र हरियाली माछीखोला’ भन्ने अभियान अन्तरगत नदीमा जथाभावी फोहोर फाल्न निषेध गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनारले बताए ।
जथाभावी फोहोर फाल्नेलाई पहिलो पटक पाँचसय रुपैया जरिवाना गरिने र दोहो¥याएमा पटकै पिच्छे जरिवाना रकम दोब्बर गरिने उनले जानकारी दिए । बूढीगण्डकी नदी र रेसे खोलामा फोहोरमैला फालेको देखेमा गाउँपालिकाको कार्यालय वा माछिखोला प्रहरी चौकीमा सूचना दिन पालिकाले अनुरोध गरेको छ ।
त्यस्ता गतिविधिहरु गर्ने मानिसलाई कानून बमोजिम हदैसम्मको कारवाही गरिने पालिकाले चेतावनी दिएको छ ।
सरसफाइ अभियान अन्तरगत माछीखोला बजार क्षेत्रमा साप्ताहिक रुपमा सरसफाई गरी फोहोर संकलन गर्ने र डम्पिङ साइड समेत पहिचान गरी फोहोरमैला व्यवस्थापन गर्ने कार्य समेत सुरु भइसकेको पालिकाले जनाएको छ ।




