
नाम्जुङ–घैरुङ सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने
नाम्जुङदेखि शहीदलखन गाउँपालिकाको केन्द्र घैरुङसम्मको सडकखण्ड आज बिहिबारदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडक स्तरोन्नतिको क्रममा पहाड कटान गर्नुपर्ने भएकाले बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म सडक बन्द गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
सो अवधिभर उक्त सडकखण्डमा कुनै पनि सवारी साधन संचालन नगर्न सूचना गरिसकिएको गाउँपालिका अध्यक्ष रमेश थापाले बताए । एम्वुलेन्स लगायतका अति आवश्यक सवारी पनि संचालन नहुने भएकाले बैकल्पिक सडक प्रयोग गर्न पूर्वसूचना गरिएको उनले जनाएका छन् । बैकल्पिक मार्गको रुपमा तीनमाने–चिसापानी–रानीस्वाँरा हुदैँ देउराली जाने सडक र बाँसकोट–फिरफिरे–रानीस्वाँरा हुदैँ देउराली जाने बैकल्पिक सडक प्रयोग गर्न सकिने उनले जानकारी दिए ।
‘करिव एक महिनासम्म दैनिक चार घण्टा सडक बन्द हुनेछ’, अध्यक्ष थापाले भने, ‘तिहार र छठको बेला भने यातायात संचालन गर्न दिइन्छ ।’ सडक बन्द गर्नका लागि जिल्ला प्रशासन कार्यालयबाट स्वीकृतिसमेत लिइसकेको उनले बताए । ‘आवश्यकताका आधारमा पालिकाले सिफारिस गरेर पठाएको थियो । त्यही आधारमा जिल्ला प्रशासन कार्यालयले स्वीकृति दिएको छ’, उनले भने ।
नाम्जुङदेखि घैरुङसम्मको करिव साढे तीन किलोमिटर सडक कालोपत्रेका लागि सिनर्जी÷सचेत जेभीसँग ठेक्का सम्झौता भएको काम अघि बढेको हो । ९ करोड ९८ लाखमा ठेक्का सम्झौता भएको हो । सम्झौता अनुसार साँढे तीन किलोमिटर सो सडकखण्ड २०८१ साल माघ ३० गतेभित्र उक्त कालोपत्रे गरिसक्नुपर्ने छ । हालसम्म ५५ प्रतिशत काम सम्पन्न भएको बताउँदै निर्माण व्यवसायी किरण श्रेष्ठले समय अगावै काम सम्पन्न हुने दावी गरे । पालिकाको आफ्नै खर्चमा उक्त सडकखण्ड कालोपत्रे गर्न लागिएको हो ।




