| बुधबार, कार्तिक २५, २०८३

पाँचसय लिचीको फेदमा १० हजार लोकल कुखुरा

काठमाडौँका व्यवसायी फणिन्द्र पाण्डेलाई सानै उमेरदेखि अर्गानिक खाना खानुपर्छ, अर्गानिक खाना खुवाउनु पर्छ, स्वस्थ बन्नु पर्छ, अरुलाई पनि स्वस्थ बनाउनु पर्छ भन्ने लाग्थ्यो । बजारका मिसावटयुक्त खानाले उपभोक्तालाई अस्वस्थ बनाएकामा उनी चिन्तित हुन्थे ।

स्वस्थ अर्गानिक खाना अभियानमा योगदान गर्नुपर्छ भन्ने उनीहरुलाई लाग्दथ्यो । तर अर्गानिक खानेकुरा उत्पादन गर्नु धेरै महंगो पथ्र्यो । त्यसैले त्यो अभियानका लागि उनले आफ्नो निजी सम्पत्ति पनि धेरै खर्च गरे । ठमेलमा ग्रिन अर्गानिक क्याफे सञ्चालन गरे, राजदरबारको उत्तरढोकामा वेलनेस अर्गानिक क्लव पनि सञ्चालन गरे । सतप्रतिशत शुद्ध अर्गानिक त गर्न सकिँदैन, बरु लोकल कुखुरा, लोकल माछा पालन गर्ने भनेर उनीहरुको योजना अघि बढ्यो ।

वेलनेस अर्गानिक क्लवका सञ्चालक पाण्डे, ठमेलमा पर्यटन, होटल, रेस्टुरेण्ट व्यवसाय गरी बस्ने सन्तोष चापागाईँ र प्रकाशन व्यसाय गर्ने सर्वकल्याण कँडेलले सहकार्य गरी गोरखाको पालुङ्टार ६ लामबगैँचाको ७० रोपनी जग्गामा लोकल कुखुरा पालन गर्ने योजना तय गरे । त्यसमध्य ४० रोपनी क्षेत्रफलमा त्यसअघिका जग्गाधनीले पाँचसय बोट लिची खेती गरेका थिए । लिचीको बगैँचामा लोकल जातको कुखुरा छोडेर पाल्ने योजना बनाए । अहिले त्यहाँ १० हजार लोकल कुखुरा पालन गरिएको सन्तोष चापागाईँले जानकारी दिए ।

‘स्वस्थ, गुणस्तरीय मासु र अण्डा उत्पादन गर्ने लक्ष्य राखेर हामीले यहाँ लोकल कुखुरा पालन गरेका छौँ’, कुखुरा फर्म सञ्चालनको जिम्मेवारी पाएका सन्तोष चापागाईँले भने, ‘यहाँ हामीले १३ वटा ब्लक बनाएका छौँ । कुनैमा कुखुरा छन्, कुनैमा घाँस खेती गरेका छौँ । त्यो घाँस त्यही कुखुरालाई दिन्छौँ । प्लटहरुमा आलोपालो गरेर कुखुरा पालन र घाँस खेती गरेका छौँ । १२ वटा पोखरी पनि बनाएका छौँ । पोखरीमा कुखुराको पौष्टिक तत्वका लागि एजोला रोपेका छौँ ।’ बाँकी ३० रोपनी जग्गामा अम्बाखेती गरेको र अम्बाको बोट ठूलो भएपछि त्यहाँ पनि कुखुरा पालन गर्ने उनले बताए । लिची, अम्बाको फेदमा कुखुरा रमाएर चर्ने र लिची र अम्बा उत्पादन पनि राम्रो हुने अनुमान उनीहरुको छ ।

सात करोड लगानीमा सञ्चालन गरिएको गोर्खाल्याण्ड एग्रिकल्चर प्रालि नामको सो फर्ममा सञ्चालकहरुले एकहजार दुईसयवटा बट्टाई पनि पालन गरेका छन् ।

कुखुराका चल्ला पोखराको भेँडीफर्मबाट ल्याउने गरेको उनले बताए । ‘न्यू हेम्पसायर र ब्ल्याक स्ट्रालोप जातका कुखुरा हुन् । छ महिनाबाट अण्डा पार्न सुरु गर्छ । एकबर्षसम्म अण्डा पार्न दिन्छौँ । एकबर्षपछिका कुखुरा मासु प्रयोजनका लागि बेच्छौँ । अण्डा र मासु भाटभटेनी सुपरमार्केट र हाम्रा वेलनेस क्लव, रेस्टुरेण्टहरुमा खपत हुन्छन् ।’ अहिले दैनिक दुईहजार पाँचसय गोटा अण्डा उत्पादन हुने गरेका छन् । दैनिक २० हजार गोटा अण्डा उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको चापागाईँले बताए । ‘दैनिक २० हजार अण्डा उत्पादन गर्न ४० हजार कुखुरा पालन गर्नुपर्छ । त्यही उद्देश्यका साथ अघि बढिरहेका छौँ’, उनले भने ।

आफू पनि स्वस्थ खाना खाने, अरुलाई पनि स्वस्थ खाना खुवाउने र स्वस्थ जीवन बाँच्ने उद्देश्यका साथ यस फर्म स्थापना गरिएको चापागाईँको भनाइ छ ।

गोरखामा कुखुरा पालन गरिएको र झापामा माछापालन गरिएको उनले बताए । ‘जति उत्पादन गरे पनि मार्केटका लागि कुनै समस्या छैन । त्यो वातावरण हामीले बनाएका छौँ’, उनले भने ।
कुखुरा फर्ममा स्थानीय सातजनाले रोजगारी पनि पाएका छन् ।

कुखुरा फर्ममा पानीको अभाव र चितुवा, स्याल र वन विरालु लगायतका जंगली जनावरले आक्रमण गरेर समस्या बनाएको उनले बताए ।

कोभिडपछि यहाँ कुखुरा पाल्न सुरु गरिएको हो । ‘तीनबर्ष जति भयो, यहाँ कुखुरा पाल्न थालेको’, चापागाईँले भने, ‘तर हामीले सरकारी अनुदान पाएका छैनौँ । अनुदानका लागि भन्दा केही नयाँ काम गरौँ भन्नका लागि व्यवसाय सुरु गरेका हौँ’, सञ्चालक चापागाईले भने ।

प्रतिक्रिया दिनुहोस्